योगेश भट्टराईको खुलासा: एकतापछि पार्टी प्रचण्डको कब्जामा हुन्छ - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

योगेश भट्टराईको खुलासा: एकतापछि पार्टी प्रचण्डको कब्जामा हुन्छ



काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले–माओवादी केन्द्रबीचको एकता हुनेबित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो शुभकामना आउने स्पष्ट पारेका छन् । उनले भने,‘एमाले र माओवादीबीच एकता हुँदा भारतीय प्रधानमन्त्री मोदी र चिनीयाँ राष्ट्रपति सि जिनफिङको शुभकामना आउँछ।’ एमाले–माओवादी एकताप्रति मोदीको सद्भाव रहेको उनले बताए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव भट्टराईले भारतीय प्रधानमन्त्री मोदीको अब हुने नेपाल भ्रमणलाई आफूहरुले सफल बनाउने बताए । उनले भने,‘मोदीजीको भ्रमण सफल हुन्छ, हामी सफल बनाउँछौं, पछिल्लो समय नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको छ, हामीबीच रहेका सबै असमझदारी हटेका छन्, भारतपनि नेपालमा विकास र समृद्धि चाहन्छ, हामी पनि भारतसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं, मोदीको यो भ्रमण दुई देशबीचको सम्बन्धमा कोशेढुँगा सावित हुन्छ ।’

उनले मोदीको नेपाल भ्रमणको बेला नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर हुने विश्वास दिलाए । उनले मोदी नेपाल भ्रमणमा आउँदा यसपटक जनकपुरपनि जाने कार्यक्रम रहेकोले आफूहरुले जनकपुर र मुक्तिनाथको भ्रमण गराउने तयारी थालिसकेको बताए । मोदीको भ्रमण सफल बनाउन सिँगो सरकार तयारीमा जुटिसकेको पनि उनले जानकारी दिए ।

नेता भट्टराईले एमाले–माओवादीले एक–अर्काको अस्तित्व स्विकार गरिसकेकोले आफूहरु सहकार्यमा रहेको बताउँदै भने,‘एकता जनताबाट अनुमोदित भैसकेको छ, अब पछि हट्ने ठाउँ छैन, एकतालाई टुँगोमा पुर्याउनको लागि दुवै पार्टीका अध्यक्षवीच धेरैपटक वार्ता तथा छलफलहरु भएका छन्, छलफल अहिलेपनि जारी छ।’ दुई पार्टीबीचको एकता धेरै नजिक रहेको उनको जिकिर थियो ।

एकता भनेपछि संगठनपनि मिलाउने कुरा भएकोले राजनीतिक जित्दापनि गणित र मनोविज्ञानको उचित व्यवस्थापन गर्नुपर्ने भएकोले अहिले आफूहरु त्यस कार्यमा व्यस्त रहेको भट्टराईको भनाई छ । उनले भने,‘योग र ध्यानमा बस्दाखेरि मनोविज्ञानको व्यवस्थापन हुन्छ, एकले अर्कोलाई मित्रता ठान्दछ, शत्रुता हट्छ, धैर्यता बढ्छ।’

उनले पार्टी एकता ५०-५० को अनुपातमा भन्दापनि सिँगो पार्टी भनेको त १०० प्रतिशत हुने बताउँदै भने,‘सिँगो पार्टी नै भएपछि त उहाँ (प्रचण्ड) को हातमा पार्टी हुन्छ ।’ एकतामा जाँदा पार्टी बलियो हुनुपर्ने उनको धारणा छ । ‘एकता गर्ने भनेको त बलियो पार्टी बनाउने हो नि’ उनले भने,‘त्यसैले जग बलियो बनाउनुपर्छ, जसरी घर बनाउँदा बलियो जग हालिन्छ, नक्कली माल प्रयोग गर्नुहुँदैन, बरु सक्कली माल प्रयोग गर्नुपर्छ ।’

भट्टराईले एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने समेत स्पष्ट पारेका छन् । अहिले समान अस्तित्वका आधारमा पार्टी एकता हुने तर भविष्यमा फलानो अध्यक्ष हुन्छ भनेर घोषणा गर्न नमिल्ने स्पष्ट पार्दै सचिव भट्टराईले भने,‘कुनै डाइनेष्टीमा पहिल्यै उत्तराधिकारी घोषणा हुन्छ । लोकतान्त्रिक पार्टीमा यस्तो हुँदैन । जो पनि अध्यक्ष हुनसक्छ । अरु नेता र कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ ।’

राजनीतिक दस्तावेज तयार भइसकेको तर संगठनको गणित र साझा मनोविज्ञान मिलाउन बाँकी रहेको उल्लेख गर्दै सचिव भटृराईले भने,‘विगतमा अल्मलिएर होइन आगामी बाटोलाई प्राथमिकताका साथ जान हामीबीच कुनै विमति छैन । यहाँ कति हिस्सा भन्ने समस्या पनि छैन, एकता भएपछि दुवै पक्षलाई सिंगो पार्टी र शतप्रतिशत सबैको हुन्छ । पचास वा अरु प्रतिशतमा अल्मलिनु पर्दैन ।’

एकीकृत पार्टीमा चार जना प्रधानमन्त्री भैसकेका नेताहरु रहने भएकोले आफूहरुले मिलेर पार्टी हाँक्ने उनको विश्वास थियो । उनले भने,‘एउटा जंगलमा दुई शेर बस्न सक्दैनन् भन्ने छ, तर हामी चार चार जना शेर पनि मिलेर देखाउँछौं ।’

नेपालले यतिवेला धेरै राम्रो संभावना बोकेको बताउँदै आफूहरु ‘ब्लेम गेम’ बाट मुक्त रहेको भट्टराईको भनाई छ । उनले भने,‘हामी सरकारमा छौं, कांग्रेस प्रतिपक्षमा छ, हामी सबै आ–आफ्नो आसनमा छौं, संविधानको सिमामा रहेर हामी अघि बढिरहेका छौं, कांग्रेपनि युनिफाईड होस्, तीन तहकै सरकार बनेको छ, भारतसँगको चिसोपनाको अन्त्य भएर अहिले न्यानोपनामा रुपान्तरणमा भएको छ, सहयोग आदान–प्रदान भएका छन्, चिनियाँ राष्ट्रपति सि जिनपिङकोपनि नेपाल भ्रमण छिट्टै हुन्छ, भारत र चीनको उच्चस्तरीय भ्रमण हुनु भनेको सुखद कुरा हो ।’

उनले मुलुकमा स्थायी सरकार गठन भएकोले अब जथाभावी आशंका नगर्न समेत आग्रह गरे । उनले भने,‘जथाभागी आशंका नगर्नुहोस्, कांग्रेसका मित्रहरुले अधिनायवादको आरोप लगाउनुहुन्छ, यो बेतुकको आरोप हो, आरोप नै लगाउने हो भने कांग्रेसलाई आरोप लगाउने हामीसँग प्रशस्त आधारहरु छन्, २००७ सालमा कांग्रेसले कम्युनिष्टलाई प्रतिबन्ध लगाएको थियो, पछि २०१२ सालमा प्रतिबन्ध फुकाएको हो, २०१५ सालमा राजाले संसद विघटन गर्दा दुई तिहाई भएको कांग्रेसले बोलेन तर ४ सिट भएका पुष्पलालहरुले संसदको पूर्नस्थापनाको कुरा गर्नुभयो, ०४८ सालमा गिरिजाले संसद विघटन गरे, ०५८ सालमा शेरबहादुर देउवाजीले गर्नुभयो, आरोप त हामी लगाउन सक्छौं, त्यसैले यस्तो प्रतिरक्षात्मक सवाल नउठानुहोस् ।’

कांग्रेस, एमाले, माओवादी लगायत सबैले मिलेर आफूहरुले विश्वमै उत्कृष्ट साझा संविधान ल्याएको बताउँदै उनले भने,‘त्यसैले अब सबै जिम्मेवार बनों, स्वस्थ प्रतिष्पर्धा गरौं ।’