डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई लाजशरम नभएको भनेपछि…
काठमाडौं- राजा विरेन्द्रको सम्पत्ति दुरुपयोग गरेको भन्दै डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश ब्यक्त गरेका छन् ।
गोकर्ण रिसोर्टको २७ सय ९३ रोपनी सरकारी जग्गा यती समूहलाई दिएको विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आक्रोश व्यक्त गरेका हुन् । गोकर्ण रिसोर्ट तत्कालीन राजा वीरेन्द्र शाहको नाममा थियो ।
२०६२÷०६३ को जनआन्दोलनपछि सरकारले राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेका सम्पत्ति सरकारको मातहत ल्याउन कानुन बनाएर नेपाल ट्रस्ट स्थापना गरेको थियो । राजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्ति सरकारको मातहतमा ल्याउने र यसलाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रयोग गर्ने गरी कानुन बनाइएको थियो ।
सरकारले गोकर्ण रिसोर्टको २७ सय ९३ रोपनी सरकारी जग्गा यती समूहलाई दिएको छ । गोकर्ण रिसोर्ट योजनाबद्ध रूपमा यती समूहलाई बुझाउन नेपाल ट्रस्ट ऐन संशोधन गरिएको आरोप लागेको छ ।
तर, सरकारले गत वर्ष नेपाल ट्रस्ट ऐन संशोधन गर्दै ‘विद्यालय, महाविद्यालय, विश्वविद्यालय वा अस्पताल र स्वास्थ्य चौकीको सट्टा पर्यटन र व्यापारिक क्षेत्रमा पनि ट्रस्टको सम्पत्ति प्रयोग गर्न सकिनेछ’ भन्ने बुँदा थपियो । यही कानुनको आधारमा सरकारले यती एयर समूहलाई स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति गोकर्ण रिसोर्ट सुम्पियो । सरकारले २५ वर्षका लागि यतीलाई गोकर्ण रिसोर्टको जिम्मा दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएलगत्तै २३ मंसिरमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले ६ वर्ष म्याद छँदै गोकर्ण रिसोर्ट यती समूहलाई जिम्मा दिने निर्णय गरेको हो ।
सरकारले २५ वर्षका लायि यती समूहलाई गोकर्ण रिसोर्ट सुम्पिएको खबर सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आक्रोश पोखेका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘सार्वजनिक शिक्षा,स्वास्थ्य जस्ता जनोपयोगी कार्यमा पूर्व राजपरिवारको सम्पत्ति सदुपयोग गर्न नेपाल ट्रष्टमा राखिएको गोकर्णको जग्गा र सम्पत्ति ऐन नै संशोधन गरेर ६ बर्षको म्याद बाँकी छँदै एउटा व्यापारिक घरानालाई सुम्पनु क्रोनी क्यापिटालिज्मको भद्दा नमूना हो, केही त लाजशरम गर कणहरू ।’
