प्रधानमन्त्रीले गरे वृद्धभत्ता पाँच हजार बनाउने घोषणा - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

प्रधानमन्त्रीले गरे वृद्धभत्ता पाँच हजार बनाउने घोषणा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई आफ्नो पाँच वर्षे कार्यकालभित्रै मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा दिएको सन्देशमा प्रधानमन्त्री ओलीले अहिले दिँदै आएको मासिक तीन हजार रुपैयाँ भत्ता बढाउने बताएका हुन्।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टुबर १ लाई इन्टरन्यासनल डे अफ ओल्डर पर्सन्स अर्थात् अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ।

‘उमेरकै कारण गरिने विभेद–अन्त्यको यात्रा’ भन्ने नाराका साथ संसारभरि नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यतापूर्वक मनाइँदैछ। प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ज्येष्ठ नागरिकको हक, हित संरक्षण एवं सम्बद्र्धनका लागि छाता संगठनका रूपमा कार्यरत राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ लगायत विभिन्न संघ–संस्थाहरुले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘नेपालमा पहिलो पटक स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको कम्युनिष्ट पार्टीको एकल सरकारले मासिक १०० रुपैयाँबाट ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको थियो । जनवोलीमा वृद्ध भत्ता भन्ने गरिएको उक्त भत्ताको राशी २०७६ साउनदेखि ३ हजार रुपैयाँ पुर्‍याइएको छ। वर्तमान सरकारले आफ्नो पाँच वर्षे कार्यकालभित्रै त्यसलाई ५ हजार पुर्‍याउनेछ।’

प्रधानमन्त्री ओलीले २०७६ सालको प्रारम्भसँगै वर्तमान सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई योगदान रकम सरकारले नै व्यहोर्ने गरी निःशुल्क स्वास्थ्य बीमामा आवद्ध गर्ने नीति कार्यान्वायन गर्न थालिसकेको पनि बताए। ‘यतिखेर झण्डै अढाई लाख ज्येष्ठ नागरिक वार्षिक रुपमा १ लाख रुपैयाँ बराबरको तोकिएका सुविधा–सेवाहरु विभिन्न स्वास्थ्य संस्थाहरुबाट प्राप्त गरिरहनु भएको छ’, प्रधानमन्त्रीले भनेका छन्, ‘चालु आर्थिक वर्षभित्र ७७ वटै जिल्लाका ज्येष्ठ नागरिकहरुलाई यस योजनामा आवद्ध गरिनेछ।’