लेखराज भट्टसँग अख्तियारले लियो बयान, मुद्दा रोकाउन ओलीको दवाव - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

लेखराज भट्टसँग अख्तियारले लियो बयान, मुद्दा रोकाउन ओलीको दवाव



काठमाडौं- पूर्व माओवादीबाट एमालेमा आएका नेता लेखराज भट्टसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको खुलेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उद्योगमन्त्री रहेका भट्टले विभिन्न उद्योगलाई एक अर्ब २५ करोड रुपैयाँ नातिराएको र सोबापत लाभ लिएको भन्दै उजुरी परेको थियो ।

नौ वटा चुनढुंगा उद्योगलाई एक अर्ब २५ करोड रुपैयाँ बराबरको जरिवाना मिनाहा गराएको घटनामा तत्कालिन उद्योगमन्त्री भट्ट र सचिव यामकुमार खतिवडासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको खुलेको छ ।

नेता भट्टले मुद्दा रोकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई दवाव दिइरहेको बताइएको छ । अख्तियार स्रोतका अनुसार नेता भट्ट जोडिएको मुद्दा रफादफा गर्न ओलीले निरन्तर दवाव दिइरहेका छन् ।

अख्तियारले उनलाई बयान लिएपछि यो घटना लुकाउन भट्टले भएभरको शक्ति प्रयोग गरिरहेको समेत बताइएको छ । मन्त्री भट्टको कार्यकालमा खानी दोहन गर्ने नौ वटा उद्योगलाई एक अर्ब २६ करोड क्षतीपुर्ती भराउनुपर्ने प्रतिवेदन खानी तथा भूगर्भ विभागले दिएको थियो । त्यो प्रतिवेदन कार्यान्वायन नगरी तत्कालिन मन्त्री भत्ताको टिमले छुट दिएको थियो ।

सिन्धुली र उदयपुरको सीमामा रहेको मारुती सिमेन्ट, उदयपुरस्थित उदयपुर मिनरल्स, धादिङको अन्नपूर्ण क्वारिज, रोल्पाको सोनापुर आयल एन्ड मिनरल्स, ललितपुरमा रहेको युनाइटेड सिमेन्टले अधिक उत्खनन गरेका थिए।

त्यस्तै, पाल्पामा रहेका चार उद्योग सर्वोच्च सिमेन्ट, कञ्चन क्वारेज, डोलामोइट चुनढुंगा प्रालि र सिद्धार्थ सिमेन्टले त्यसरी छुट पाएका थिए । यसरी उनीहरुलाई छुट दिदा नेता र कर्मचारीको मिलेमतोमा गरिएको भेटिएको थियो ।

सर्वोच्च अदालतले तत्कालिन नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूर्वावस्थामा फर्काएपछि नेता भट्टले ओलीलाई साथ दिएर एमालेमै बसेका थिए । त्यतिखेर पनि नेता भट्टले केहि अनियमितता लुकाउन ओलीलाई साथ दिएको चर्चा चलेको थियो ।