ज्येष्ठ नागरिकले स्वेच्छाले मर्न पाउनुपर्छ - भैरव रिसाल - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

ज्येष्ठ नागरिकले स्वेच्छाले मर्न पाउनुपर्छ – भैरव रिसाल



काठमाडौँ – 

ज्येष्ठ नागरिकले ‘स्वेच्छिक मृत्यु’ अवलम्बन गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग वरिष्ठ पत्रकार भैरव रिसालले माग गरेका छन्। धेरै विद्धान् छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिननाई पूर्वक जीवनयापन गर्नु परेको भन्दै उनीहरूले चाहेमा स्वेच्छिक मृत्यु अँगाल्न पाउने कानुनी व्यवस्था गरिदिन उनले आग्रह गरे। सुन्दा नमिठो लागे पनि ज्येष्ठ नागरिकहरूले स्वेच्छिक मृत्युवरण गर्न चाहेको देखिएको उल्लेख गर्दै उनले सो कानुनी व्यवस्था गर्न सरकारसँग अनुरोध गरे।

विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरूले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था रहेकोतर्फ वरिष्ठ पत्रकार रिसालले सरकारको ध्यानाकर्षण गराए।

शुक्रबार सङ्घीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धि विधेयकमाथि सरोकारवालाहरूसँगको छलफलमा भाग लिँदै रिसालले ज्येष्ठ सासु–ससुरालाई स्याहार गर्ने बुहारी मध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए।

त्यसले पनि ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि सामाजिक रूपमै जागरण ल्याउने उनको भनाई छ। बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमा नै पालनपोषण गर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। उनले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था गरेकोमा खुसी व्यक्त गरे। विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजाय दिने प्रावधान राखिएको छ।