भरतपुरमा अचम्मका मतपत्र भेटिए, यस्तो रहेछ सुवेदी पछि पर्नुको कारण - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

भरतपुरमा अचम्मका मतपत्र भेटिए, यस्तो रहेछ सुवेदी पछि पर्नुको कारण



भरतपुर महानगरपालिकाको मतगणना जारी छ । मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् भने कांग्रेसबात बागी उठेका जगन्नाथ पौडेलले अनि मत बढाउँदै लगेका छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अबको गणनामा राम्रो लिड गर्न नसके अवस्था चिन्ताजनक देखिएको छ ।कांग्रेसभित्रको असन्तुष्टी र जगन्नाथको बागी उम्मेदवारीबाट लाभ लिने एमालेको आँकलनले काम नगर्ने देखिएको छ ।

चुनाव अगाडि एमालेले गरेको अनुमान अनुसार जगन्नथले कांग्रेसको मत काट्ने र एमालेलाई नै फाइदा हुने आंकलन थियो । तर गणनाको दौरान एमाले आफै चकित हुने तथ्यहरू भेटिएका छन् । ती तथ्यहरूले एमाले उम्मेदवार सुवेदीले आफ्नै पार्टीको मत पाउन नसकेको देखिएको छ ।

बागी उम्मेदवार पौडेलले कांग्रेसको मत काटेपनि अधिकांश वडामा रेणुले नै एमालेको मत तानेको देखिन्छ ।

जारी मतगणना हेर्दा एमालेको अपेक्षा फेल भएको छ । यसले एमालेभित्र झनै विवाद रहेको देखिएको छ ।
एमालेकै कार्यकर्ताहरूले रेणुलाई मत दिएपछि रेणुले एमालेको मन जितेर मत दिएको अवस्था देखिएको छ ।

गणनाको दौरान एमाले जनलाई नै चकित पार्ने तथ्य भेटिएका छन् । कतिपय मतमा एक भोट हँसिया-हतौडामा हालेर बाँकी भोट सूर्यमा हालेको मतपत्र धेरै भेटिएका छन् ।

विगतमा एमालेले अग्रता लिएको वडा नम्बर १ देखि ५ सम्ममा अहिले एमालेको मत घटेको देखिन्छ । एमालेले जितेको वडा नम्बर ३ मा वडा अध्यक्षमा एमालेले १ हजार ६ सय ६६ मत पाएको छ । जबकी सो वडाबाट मेयरमा एमालेले १ हजार २९ मत मात्रै पाएको छ ।

वडा अध्यक्षले भन्दा मेयरमा ६ सय २९ मत कम पाएपनि एमालेले वडा नम्बर ३ मा ५३ मतले अग्रता लिएको थियो ।वडा अध्यक्षमा पराजित भएका वडाहरूमा पनि एमालेका मेयरले भन्दा वडा अध्यक्षका उम्मेदवारले बढी मत ल्याएका छन् ।

यस्तै वडा नम्बर १ मा अध्यक्षमा १ हजार ३ सय १३ मत पाउँदा मेयरमा एमालेले १ हजार ८७ मत मात्रै प्राप्त गरेको छ । एमालेलाई वडा अध्यक्षमा मत दिएका मध्ये सो वडाबाट २ सय २६ जनाले मेयरमा विजय सुवेदीलाई मत दिएनन् ।

वडा नम्बर २ मा मेयरमा सुवेदीले १ हजार ८ सय २८ मत ल्याए । जबकी वडा अध्यक्षमा एमाले उम्मेदवारले विजयको भन्दा २ सय ३० बढी अर्थात २ हजार ५८ मत ल्याएका छन् । वडा नम्बर ४ मा मात्रै मेयरमा सुवेदीले वडा अध्यक्षको भन्दा बढी मत ल्याएका छन् । त्यो वडामा अध्यक्षमा एमालेले १ हजार ६ सय ३३ मत पाउँदा मेयरमा सुवेदीले १ हजार ७ सय ४४ मत ल्याएका छन् ।

वडा नम्बर ५ मा मेयरमा सुवेदीले व्यहारेको क्षति अझ बढी छ । यही वडाबाट रेणुले आफ्नो अग्रता बढाउन क्रम सुरू भएको थियो । वडा अध्यक्षमा एमालेले १ हजार ९ सय ५१ मत पाएको वडा नम्बर ५ मा मेयरमा एमालेले १ हजार ४ सय ९ मत मात्रै ल्याएका छन् ।

समग्रमा मतगणना सम्पन्न भएका ५ वटा वडामा वडा अध्यक्षका लागि एमाले उम्मेदवारहरूले कुल ८ हजार ६ सय २१ मत ल्याएका छन् । जबकी मेयरमा ती ५ वडाबाट सुवेदीलाई ७ हजार ९७ मत मात्रै प्राप्त भएको छ ।

एमालेले २०७४ मा जितेका मध्ये वडा नम्बर २, ४ र ५ को नेतृत्व गुमाइसकेको छ ।