हिंस्रक बन्दै भारतको आन्दोलन: देशभर तनाव, तीन जनाको मृत्यु - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

हिंस्रक बन्दै भारतको आन्दोलन: देशभर तनाव, तीन जनाको मृत्यु



एजेन्सी- नागरिकता संशोधन कानूनको विरोधमा बिहीबार भारतमा हिंस्रक प्रदर्शन गर्दै प्रदर्शनकारी सडकमा ओर्लिएको बताइएको छ ।

पटना, दिल्ली, लखनउ सहित कयौं साना ठूला शहरमा प्रदर्शनकारी सडकमा ओर्लिएको बताइएको छ । लखनउमा प्रदर्शनका क्रममा गोली लागेका एक किशोरको अस्पतालमा मृत्यु भएको एनडीटीभीले जनाएको छ ।

गोली लागेर घाइते भएका तीनजनामध्ये पुरानो लखनउका वकिल नामक युवकको मृत्यु भएको बताइएको छ । यसबारे प्रहरीले अहिलेसम्म पुष्टि नगरेको बताइएको छ ।

यसैगरी कर्नाटकको मंगलोरमा पनि प्रहरीको गोलीबाट घाइते भएका दुईजनाको अस्पतालमा मृत्यु भएको भारतीय समाचार संस्था आजतकले जनाएको छ ।

पुरानो लखनउमा ठाउँठाउँमा आगजनी र तोडफोड भएको छ । प्रहरीको गाडीमा पनि प्रदर्शनकारीले आगो लगाइदिएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास पनि छाडेको बताइएको छ ।

प्रदर्शनकारीले मिडियाको ओबी भ्यान र राज्य परिवहन निगमको बस जलाइदिएका छन् । दिल्लीमा पनि प्रदर्शन उग्र बनेपछि २० वटा मेट्रो स्टेशन बन्द गरिएको छ ।

देशभरि जारी प्रदर्शनका बीच भारतीय गृहमन्त्री अमित शाहले अधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन् । लखनउमा भएको हिंसाबाट सरकार चिन्तित भएको जनाइएको छ ।

बैठकमा गृहमन्त्री अमित शाह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, केन्द्रीय गृह राज्यमन्त्री जी किशन रेड्डी तथा केन्द्रीय गृह सचिव अजय कुमार भल्ला रहेको बताइएको छ ।

के के भयो आज ?

लखनउमा प्रदर्शन हिंस्रक भयो । विशेषगरी पुरानो लखनउमा ठाउँठाउँमा आगजनी र तोडफोड भयो । प्रहरी वाहनमा पनि प्रदर्शनकारीले आगजन गरे । भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो ।

दिल्लीमा पनि लालकिल्ला लगायत कयौं ठाउँ प्रदर्शन भयो । राजीव चोक र मन्डी हाउस लगायत २० मेट्रो स्टेशन बन्द गरियो । कयौं ठाउँमा फोन, एसएमएस र इन्टरनेट सेवा बन्द गरियो ।

दिल्लीमा कयौं प्रदर्शनकारीलाई हिरासतमा लिइयो । जसमध्ये माक्र्सवादी कम्युनिष्ट पार्टी (सीपीएम) नेता सीताराम येचुरी, सीपीआई नेता डी राजा, पटियाला (पंजाब) का पूर्व सांसद धरमवीर गान्धी, दिल्लीका पूर्व सांसद संदीप दीक्षित, स्वराज इन्डियाका अध्यक्ष योगेन्द्र यादव तथा कर्नल जयवीर लगायत थिए ।

सुचेता डे, उमर खालिद, नदीम खान कांग्रेस नेता अजय माकनकी पत्नीलाई समेत हिरासतमा लिइएको बताइएको छ ।

उता बेंगलुरु प्रहरीले इतिहासकार रामचन्द्र गुहा लगायत करीब ३० जना प्रदर्शनकारीलाई हिरासतमा लिएको छ । देशभरि करीब एकहजार नेता तथा प्रदर्शनकारीलाई पक्राउ गरिएकाे बताइएकाे छ ।

पटनामा पनि कम्युनिष्ट संगठनहरुले रेलसेवा बन्द गरिदिएका छन् । गुजरातको अहमदावादमा पनि भीड नियन्त्रण गर्न लाठीचार्ज गरेको समाचार छ ।