भारत तनावग्रस्त, टेलिफोन र इन्टरनेट बन्द, हजारौँ पक्राउ - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

भारत तनावग्रस्त, टेलिफोन र इन्टरनेट बन्द, हजारौँ पक्राउ



नयाँ दिल्ली- भारतमा नागरिकतासम्बन्धी नयाँ ल्याइएको कानुनको विरोध झनझन चर्किदै गएको छ। आज भारतका विभिन्न शहरमा प्रदर्शन भइरहेका छन्।

बेंगोरमा पत्रकारलाई अन्तर्वार्ता दिइरहेका वेला इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका हुन्। उनले महात्मा गान्धीको फोटो बोकेका थिए।

दिल्लीमा भएको प्रदर्शनमा कांग्रेस नेता सन्दीप दीक्षित पक्राउ परेका छन्। उनीसँगै कयौं नेता कार्यकर्तालाई पक्राउ गरिएको जनाएको छ।

त्यस्तै, दिल्लीमा भएको प्रदर्शनबाट स्वराज अभियानका नेता योगेन्द्र यादव पक्राउ परेका छन्। उनीसँगै सयौं नागरिक अगुवालाई पक्राउ गरिएको छ।

नागरिक कानुनको विरोधमा उधिएका कम्युनिष्ट नेताहरुलाई पनि पक्राउ गरिएको छ। भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरी, डी राजा, निलोत्पाल बसु, ब्रिन्दा कराँतलगायत कम्युनिष्ट नेता कार्यकर्तालाई दिल्लीको सब्जीमण्डीबाट पक्राउ गरिएको छ।

प्रदर्शन चर्किन थालेपछि दिल्लीका केही भागमा टेलिफोन सेवा बन्द गरिएको छ। मोबाइल चलेका छैनन, भने इन्टरनेट पनि बन्द गरिएको भारतीय मिडियाले जनाएका छन्।

प्रदर्शनका कारण दिल्लीका आठ वटा मेट्रो स्टेसन बन्द गरिएका छन्। यातायात पनि बन्द भएको छ।

यसैगरी, नागरिक कानुनको विरोध गर्दै विहार बन्द गरिएको छ। कम्युनिष्ट पार्टीका कार्यकर्ताले पटना दरभंगा, जहानावादलगायतका शहरमा रेलमार्गमै प्रदर्शन गरेका छन्। ८३ स्थानमा रेलमार्ग बन्द गरिएको जनाएको छ।

पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जी नै सडकमा उत्रिएकी छन्। उनले नागरिकतासम्बन्धी कानुनको विरोधमा र्‍याली आयोजना गरेकी छन्। जहाँ हजारौं सर्वसाधारण सहभागी भएको जनाएको छ। पश्चिम बंगालमा कम्युनिष्ट पार्टी नेता कार्यकर्ता पनि सडकमा ओर्लिएका छन्।

त्यस्तै, महाराष्ट्रमा पनि विरोध प्रदर्शन भइरहेको छ। जहाँ बलिउड अभिनेत्री स्वरा भाष्कर, अभिनेता फहरान अख्तरलगायतले सहभागीता जनाएका छन्।

उत्तरप्रदेश, तेलंगा, कर्नाटका, असाम, मेघालयलगायतका थुप्रै राज्यमा प्रदर्शन भइरहेको छ। केही राज्यमा सरकारले इन्टरनेट र टेलिफोन सेवा बन्द गरिएको छ।