भानु र आकाशले किन छोडे एकीकृत समाजवादी ?
काठमाडौं- पार्टीका कार्यशैली र टिकट वितरणलाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि चर्किएको छ । त्यसमाथि नेतृत्वले अडान लिन नसकेपछि लुम्बिनी प्रदेशको प्रदेश सभामा पार्टीको कुनैपनि उम्मेदवार छैनन् ।
स्थानीय निर्वाचनमा पार्टी नेतृत्वबाट गम्भीर गल्ती भएको भन्दै असन्तुष्ट रहेका संगठन निर्माणमा खटिएका अर्घाखाँचीका दुई युवाले पार्टी छोडेर पुरानै पार्टीमा फर्किएका छन् । नेकपा एमालेमा रहँदा पार्टीका विभिन्न अभियानमा खटिएका भानु खनाल र आकाश खनाल नेकपा एस छोडेर एमालेमै फर्किएका हुन् ।
नेकपा एसको युवा संगठनका सचिवालय सदस्य भानु खनाल र विद्यार्थी संगठनका स्थायी कमिटी सदस्य आकाश खनाल बिहिवार नेकपा एमालेमा फर्किएका हुन् ।
अर्घाखाँची मालारानी घर भएका दुबै युवा नेकपा एस सुरुवातदेखि नै पार्टी निर्माणमा खटिएका थिए । उनीहरूले पार्टी नेतृत्व नविन तरिकाले अगाडी बढ्न नसकेको बह्न्दै आलोचना समेत गर्ने गरेका थिए । पार्टीमा भएका गलत क्रियाकलापको खुलेर विरोध गर्ने आकाश र भानु एमालेमा प्रवेश गरेपछि विद्यार्थी संगठन र युवा संगठनमा राम्रै क्षति भएको छ ।
उनीहरू एमालेमा फर्किएपछि नेकपा एस अर्घाखाँचीमा पनि प्रभाव पर्ने भएको छ ।