सिमेन्टको कच्चा पदार्थ तथा गाडिहरुको आयतमा कमीले राजस्वमा कमि
अाचार्य प्रदीप
बुटवल । मुलुककै दोस्रो ठुलो नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल हुने संकेत देखिएको छ ।
चालु आर्थिक वर्ष २०७४÷०७५ को असोज महिना बाहेक अन्य महिनामा कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्दा वार्षिक राजश्व संकलनको लक्ष्य प्रभावित हुने देखिएको हो ।
चालु आर्थिक बर्षमा मंसिर मसान्त सम्म ३० अर्ब ९४ करोड ६२ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा मंसिर मसान्तसम्म २८ अर्ब ६ करोड ७८ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले बताए ।
कार्यालयबाट प्राप्त तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ५ अर्ब ७० करोड ६ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेपनि कार्यालयले ५ अर्ब २१ करोड ११ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । त्यस्तै भदौ महिनामा ६ अर्ब ५१ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा ६ अर्ब १४ करोड ५६ लाख रुपैयाँ, असोज महिनामा ५ अर्ब ७० करोड ६ लाख रुपैयाँ लक्ष्य रहेकोमा ६ अर्ब ४३ करोड २१ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै कार्तिक महिनामा ६ अर्ब ५१ करोड ५० लाख रुपैयाँ लक्ष्य रहेकोमा ५ अर्ब ३० करोड ६२ लाख रुपैयाँ र मंसिर महिनामा पनि ६ अर्ब ५१ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेपनि ४ अर्ब ९७ करोड २८ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको छ ।
भैरहवा नाकाबाट सिमेन्टको कच्चा पदार्थ क्लिंकर, जिप कार र भ्यान लगायतको आयतमा कमी हुदा लक्ष्य अनुसारको राजश्व संकलन प्रभावित भन्सार प्रमुख शाक्यले बताए ।
गत आर्थिक वर्ष ०७३÷०७४ मा यस नाकाबाट ६ हजार १ सय ६५ वटा कार, जीप तथा भ्यान आयात भएकोमा चालु आर्थिक वर्षको मंसिर सम्म ३ हजार ४ सय ३ वटा मात्र आयात भएको छ । जुन गत वर्षको तुलनामा २ हजार ७ सय ६२ वटाले कम रहेको छ ।
त्यस्तै गत आर्थिक वर्षमा मधेस आन्दोलनको कारण विरगंजबाट पैठारीगर्ने अधिकांश पैठारीकर्ताहरु भैरहवा भन्सारमा आई कारोवार गरेकोमा हाल उक्त पैठारीकर्ताहरु पुनः विरगंज नाकामा फिर्ता भएको कारण चालु आर्थिक वर्षमा राजश्व संकलनमा कमी देखिएको प्रमुख शाक्यको दावी छ ।
साथै उनले भारतीय सीमामा अत्यधिक सवारी जामको कारण सिमेन्ट, क्लीङ्कर आयातकर्ताहरु अन्यत्र नाकाबाट कारोवार गर्न थालेको र भारतमा प्रारम्भ गरिएको कर प्रणाली जिएसटी तथा नेपालतर्पm सुरु गरिएको एक्जिम कोडको कारणले समेत केही आयातकर्तामा द्विविधा उत्पन्न भएको कारण लक्ष्य अनुसारको राजश्व संकलन नभएको दावी गरे ।
त्यस्तै गत वर्षको तुलनामा यस वर्ष नेपालमा डबल क्याब पिकअप गाडी, एम इस बिलेट, टायल्स, मार्बल्स, हाई स्पीड डिजल लगायतका सामाग्रीहरुमा बढी आयात भएको भन्सार शाक्यले बताए ।
उनका अनुसार गत वर्ष मंसिर महिना सम्ममा डबल पिकअप क्याब २ सय १७ वटा आयात भएकोमा चालु आर्थिक वर्षको मंसिर मसिर सम्म उक्त संख्या ६ सय पुगेको छ । यस्तै बसको संख्या १ सय ४७ रहेकोमा यस वर्ष बढेर ४ सय २९ वटा पुगेको छ ।
नेपालबाट सबै भन्दा बढि निर्यात हुने वस्तुमा बोरा, झोला, अन्य कपडा पदार्थ तथा रद्दि कागजहरु रहेका छन । यस बाहेक नेपालबाट सेन्थेटिक यार्न, अदुवा, सुठो, पिना, काँच, चोकर, भुस, तारका जाली, लगायत अन्य सामाग्रीहरु समेत रहेको कार्यालयले जनाएको छ ।
भारत तर्फबाट भने मुख्य गरि जिप, कार, भ्यान, मोटरसाईकल, एम यस बिलेट, हाईस्पिड डिजल, ग्लेज टाईल, सिंगल एवम डबल क्याब पिकअप गाडी, ट्रक, मिनि ट्रक, सिमेन्ट क्ंिलकर, पेट्रोल लगायतका सामाग्री रहेका छन ।