भन्सार कार्यालयमा राजश्व चुहावटमा कमी - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

भन्सार कार्यालयमा राजश्व चुहावटमा कमी



अाचार्य प्रदीप
बुटवल। भन्सार जाँचपासका लागि विकास गरेको प्रणाली एस्युकुडा वर्ड बेलहिया भन्सार कार्यालय रुपन्देहीमा लागू भएपछि राजश्व चुहावट कम भएको छ ।

जाँचपास प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाउन दश महिना अघि भन्सार जाँचपासका लागि स्वचालित प्रणाली सञ्चालनमा ल्याइएको हो । यो प्रणाली लागू भएपछि काममा जवाबदेही, पारदर्शिता र राजश्व संकलनमा बृद्धि भएको बेलहिया भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले जानकारी दिए ।

केन्द्रिय सर्भर काठमाडौंमा रहने र सबै ठाउँबाट अवलोकन गर्न मिल्ने भएपछि सूचना आदान प्रधान र भन्सारमा हुने अबैध कृयाकलापहरु कम भएको कार्यालयको दाबी छ । स्वचालित प्रणाली सञ्चालनका लागि दु्रत गतिको इन्टरनेटको आवश्यकता पर्दछ । तर भन्सार बिभागले इन्टरनेटमा सुधार नगर्दा बेलाबेलामा सर्भर डाउन हुँने र काममा अवरोध आउने गरेको भन्सार एजेण्ट संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए ।

एस्युकुडा वर्डको प्रयोगबाट निकासी तथा पैठारीकर्ताले घरबाटै इन्टरनेटको माध्यमबाट भन्सार घोषणा गर्न तथा जाँचपास सम्बन्धी क्रियाकलाप गर्न सक्दछन् । उनीहरुले सम्बन्धित भन्सार कार्यालयमा डिजिटल प्रणाली मार्फत डिजिटल हस्ताक्षर गरी मालवस्तुको घोषणा गर्न सक्ने, आवश्यक कागजातहरु स्क्यान गरी संलग्न गर्न सक्ने छन् ।
यो प्रणालीले नेपालको भन्सार प्रशासनलाई कागजरहित भन्सारको रुपमा रुपान्तरण गर्न मद्दत पुगेको छ ।

जसबाट अन्तराष्ट्रिय व्यापारको लागत र समय घटी व्यापार सहजीकरणमा टेवा पुगेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७४।७५ मा ८१ अरव ४३ करोड ७७ लाख राजश्व संकलनको लक्ष्य राखेकोमा पुष मसान्तसम्म ३३ अरव चार करोड ९८ लाख राजश्व संकलन गरेको छ ।

यो राजश्व असुलि लक्ष्यको ८८ प्रतिशत हो । दैनिक चार सय देखि पाँच सयसम्म मालबाहक गाडि आउने यो नाकाबाट हरेक दिन १७ करोड बढी राजश्व संकलन हुँदै आएको छ ।