कञ्चनपुरको बेलौरी सहित नेपाल–भारत सीमा क्षेत्रका ५ ठाउँमा भन्सार नाकाको लागि थप्न प्रस्ताव - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

कञ्चनपुरको बेलौरी सहित नेपाल–भारत सीमा क्षेत्रका ५ ठाउँमा भन्सार नाकाको लागि थप्न प्रस्ताव



हरिश चन्द्र बाग / कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी सहित नेपाल–भारत सीमा क्षेत्रका ५ ठाउँमा भन्सार नाका थप्न प्रस्ताव गरिएको छ । यही मंसिर ३ र ४ गते नेपालको संघीय राजधानी काठमाण्डौँमा सम्पन्न नेपाल र भारतका भन्सार विभागका महानिर्देशक सम्मिलित बैठकले कञ्चनपुरको बेलौरी, परासीको त्रिवेणी, मोरङको मायागञ्ज र झापाका झापा बजार तथा गौरीगञ्जमा भारतसँग नयाँ भन्सार नाका खोल्ने प्रस्ताव गरेको हो ।

कञ्चनपुरको बेलौरी, मोरङको मायागञ्ज तथा झापाका झापाबजार र गौरीगञ्जमा भन्सार नाकाको सम्भाव्यता अध्ययन गर्ने निर्णय बैठकले गरेको छ भने परासीको त्रिवेणीमा भन्सार नाका खोल्न सम्भाव्यता अध्ययन गर्ने सहमति बैठकमा जुटेको छ । नेपाली पक्षले बेलौरी, त्रिवेणी र झापाबजारमा भन्सार नाका खोल्नुपर्ने प्रस्ताव गरेको थियो भने भारतीय पक्षले गौरीगञ्ज र मायागञ्जमा भन्सार खोल्ने प्रस्ताव गरेको थियो । संयुक्त टोलीको अध्ययन प्रतिवेदन पछि भन्सार नाका थप गर्ने विषयमा दुवै सरकारले निर्णय गर्ने भन्सार विभागका महानिर्देशक तोयम रायले बताउनु भयो । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित भारतसँग २४ वटा मूल भन्सार सञ्चालनमा छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी मन्त्री बिना मगरले आफ्नो भारत भ्रमणका क्रममा समेत कञ्चनपुरको बेलौरीलाई मुल भन्सार बनाउने विषयमा भारतीय पक्ष संग छलफल गर्नुभएको थियो । यसअघि गत साउन महिनामा नेपाल र भारतबीच व्यापार तथा पारवहनका सम्बन्धमा भारतीय सम्बन्धित पक्षसँग छलफल गर्न गएको नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि सैँजु नेतृत्वको टोलीले समेत बेलौरी–खजुरीया भन्सार नाकाको एजेण्डालाई छलफलमा समावेश गरेको थियो ।

त्यस्तै, बेलौरी उद्योग बाणिज्य संघ र बेलौरी नगरपालिका लगायत सरोकारवाला निकायले पनि यस क्षेत्रमा मूल भन्सार नाकाका लागि बारम्बार पहल गरेका थिए । गत चैत–बैशाखमा बेलौरी उद्योग बाणिज्य संघ, बेलौरी नगरपालिका र सरोकारवालाहरुको संयुक्त डेलिगेशन टोलिले समेत बेलौरीलाई मुल भन्सार नाकाका रुपमा स्तरोन्नति गर्नुपर्ने माग राख्दै बिभिन्न मन्त्रालय र विभागका ज्ञापन पत्र बुझाएका थिए । गत साउन महिनामा बेलौरी उद्योग बाणिज्य संघ र खजुरीया व्यापार मण्डलको संयुक्त टोलीले बेलौरी–खजुरीया भन्सार नाकाका लागि भारतको खजुरीयामा कष्टम अफिस सञ्चालनका सन्दर्भमा भारतीय सांसद अजय मिश्र टेनी र दीपक तलवार संग छलफल गरेको थियो ।

नेपाल तर्फ कञ्चनपुरको बेलौरीमा छोटी भन्सार कार्यालय भएपनि भारत तर्फ खजुरीयामा कष्टम कार्यालय नहुँदा दुबै देशको बैधानिक व्यापार व्यवसायमा असहजता भएको छ । बेलौरी मूल भन्सार नाकाका रुपमा स्तरोन्नति भए कञ्चनपुर मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशलाई सहजता हुने कञ्चनपुरको बेलौरी घर भई हाल अष्टे्रलिया भ्रमणमा रहनु भएका बुद्धिजीवि केशब राज जोशीको भनाइ छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रलाई भारतसँग जोड्ने प्रमुख नाकाका रुपमा रहेको छोटी भन्सार स्तरोन्नति नहुँदा कृषि उपजको निर्यात तथा आवश्यक सामानको आयातमा सबैभन्दा ठूलो समस्या स्थानीयवासीले झेल्दै आएका छन् । विगत लामो समय देखि नै उक्त नाका खोल्न बारम्बार पहल गरिए पनि हालसम्म नाका खोल्न सकिएको थिएन । अब कञ्चनपुरको बेलौरीमा मूल भन्सार नाका थप्न प्रस्ताव गरिएपछि छिट्टै स्तरोन्नतिको काम हुने यस क्षेत्रका नागरीकले अपेक्षा गरेका छन् ।