देशकै प्रमुख भन्सार तीन दिन बन्द - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

देशकै प्रमुख भन्सार तीन दिन बन्द



काठमाडाैँ। देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका तीन दिन बन्द हुने भएका छन् । सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको हो ।

निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिकसम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुनेछन् ।भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ ।

विगतमा ४८ घण्टा सीमा बन्द गर्ने गरिएको भए पनि दुवै पक्षको सहमति र समन्वयमा अबदेखि निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द गर्न लागिएको हो । तर, अत्यावश्यक पेट्रोलियम पदार्थ आयातमा भने कुनै राेकटोक हुने छैन ।

भारतीय लोकसभा निर्वाचनलाई लिएर पछिल्लो पटक सीमावर्ती सुरक्षा निकायका अधिकारीहरुको समन्वय बैठक डेढ महिना अघि मोतिहारीमा बसेको थियो ।

बिहारलगायत ७ राज्यको ५९ लोकसभा सीटमा १२ मे अर्थात वैशाख २८ गते निर्वाचन हुँदैछ । पटना राजधानी शहर भएको बिहारको उत्तरमा नेपाल, पूर्वमा भारतकै पश्चिम वंगाल, पश्चिममा उत्तर प्रदेश र दक्षिणमा झारखण्ड राज्य पर्छ ।