आफैले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्न राष्ट्रपति तयार - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

आफैले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्न राष्ट्रपति तयार



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक फिर्ता पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने भएकी छिन् ।

सोमबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले संसदको दुबै सदनबाट पुनः पारित भएर नागरिकता विधेयक आए प्रमाणीकरण गरेर पठाउने सन्देश दिएकी हुन् ।

संसददेखि विधायन समितिसम्म राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पुनः पारित गरेर पठाउने गरी प्रक्रिया अगाडि बढेको छ ।

प्रतिनिधिसभाले हुबहु पारित गरेर राष्ट्रियसभामा पठाएको विधेयकमाथि आज विधायन समितिमा पनि छलफल भएको थियो ।

विधायन समितिले पनि जस्ताको त्यस्तै पारित गरेर राष्ट्रियसभामा पठाउने तयारी गरेको छ । त्यसपछि भदौ १६ गते राष्ट्रियसभाबाट हुबहु विधेयक पारित गराउने सरकारको तयारी छ ।

यसप्रति राष्ट्रपति भण्डारीले गुनासो राखे पनि अब नागरिकता विधेयक प्रमाणीकरण हुने संकेत देखाएको कांग्रेस नेताहरुको भनाइ छ । ‘मैले नागरिकता विधेयकमा कुरा उठाइसकेपछि दलहरुमा नयाँ शिराबाट छलफल हुन्छ भन्ने मेरो अपेक्षा थियो । त्यो भएन । तर पनि म संविधान अनुसार अगाडि बढ्छु,’ राष्ट्रपतिको भनाइ थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले पहिलो पटक नागरिकता विधेयक फिर्ता भएकोमा आफ्नो कुनै गुनासो नरहेको बताएका थिए । उनले भने, ‘नागरिकता विधेयक फिर्ता भएकोमा राष्ट्रपतिज्यूसँग हाम्रो केही गुनासो छैन । तपाईंले संविधानले दिएको आफ्नो कुरा गर्नुभयो । हामीले त्यही कुरा संसदबाट अगाडि बढायौं ।’

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने नागरिकता विधेयकमा रडाको मच्चाएको प्रधानमन्त्री देउवाको आरोप थियो ।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीजीले जे अध्यादेश ल्याएको हो मैले पनि विधेयकमा त्यही ल्याएको हो । आफूले त्यही अध्यादेश ल्याउँदा ठीक ?,’ देउवाको प्रश्न थियो, ‘अहिले मैले आउँदै गर्दा के बेठीक भयो ? यत्रो ठूलो रडाको मच्चाउनुपर्ने कुनै कारण थिएन ।’

नागरिकता विधेयक अगाडि बढाउन आफूले सहमतिको कोशिस पनि गरेको भन्दै सहमति नभएपछि विधेयक अगाडि बढाएको प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई प्रस्ट पारेका थिए ।

‘मैले सहमतिको कोशिस गरेको हुँ । सहमति नभएपछि हिजो जुन विषयमा सहमति भइसकेको थियो । त्यही विषय अगाडि बढाएको हो, जे संविधानमा छ, त्यो मात्र ल्याएको हो,’ प्रधानमन्त्रीको भनाइ थियो ।

नागरिकताका सन्दर्भमा सहमति हुन बाँकी विषय विधेयकमा आउन बाँकी नै रहेको पनि प्रधानमन्त्री देउवाले प्रस्ट पारे । देउवाले आफ्नो धारणा राखिसकेपछि कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिले उठाएको कुरा आफूले गम्भीरता पूर्वक लिएको बताएका थिए ।

‘राष्ट्रपतिज्यूले जुन कुरा उठाउनु भएको छ । त्यसलाई हामीले गम्भीर रुपमा लिएका छौं,’ छलफलमा थापाले भने, ‘नयाँ संसद आएपछि एकीकृत नागरिकता विधेयक ल्याउनै पर्छ । त्यो बेलामा यही तमाम विषयको सम्बोधन हुन्छ नै ।’

लैङ्गिक समानताको विषय एकदम महत्वपूर्ण रहेको भन्दै आवश्यकता परे नयाँ संसदमा संविधान नै संशोधन पनि गर्ने थापाको भनाइ छ ।

‘वैवाहिक अंगीकृतबारे पनि त्यो बेला छलफल हुन्छ । अहिले राष्ट्रपतिले उठाएका कतिपय कुराहरु किन आएन भने यो विधेयक विषय नै बनेन त्यो । किन कि अहिले संशोधन मात्र आएको हो,’ थापाले भने ।

सरकारले अहिले नागरिकता विधेयकको संशोधन मात्र ल्याएको भन्दै भविष्यमा राष्ट्रपतिले उठाएका विषयको सम्बोधन हुने बताए । ‘सरकारले अहिले म संशोधन गर्छ, बाँकी रहेको विषय भविष्यमा नयाँ विधेयकमा आउछ,’ थापाले भने, ‘त्यसैले राष्ट्रपतिज्यूले आफ्नो कुरा सम्बोधन भएन भन्ने हिसाबले भन्दा पनि हामीले राष्ट्रपतिज्यूको कुरा गम्भीरता पूर्वक लिएका छौं ।’

अहिले अति आवश्यक विषय मात्र विधेयकमा समेटिएको थापाको भनाइ थियो ।