बालुवाटारमा पुग्यो राष्ट्रपति भण्डारीले राजीनामा दिने सूचना - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बालुवाटारमा पुग्यो राष्ट्रपति भण्डारीले राजीनामा दिने सूचना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने तयारी गरेकोबारे बालुवाटारमा सूचना पुगेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति राजीनामा दिने मुडमा रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार बिहान सत्ता गठबन्धनको बैठकपछि आफ्नो दलका नेताहरुलाई यस्तो बताएका हुन्। उनले बैठकपछि इशारा गरेसंगै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा भित्र पसेका थिए ।

त्यसपछि देउवाले भने, ‘राष्ट्रपति राजीनामा दिन्छु भनिरहनु भएको छ । दिने मुडमै हुनुहुन्छ भन्ने बुझें मैले । अब के गर्ने ?’ उक्त प्रश्नको पछि रामचन्द्र पौडेलले भने, ‘उहाँलाई राजनीति गरेर पुगेको छैन भन्ने त थाहै थियो । एमालेमा ओलीपछिको नेता चाहिएको छ । बेला यही हो भन्ने उहाँहरुले ठाने जस्तो छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै आफ्नो सुरक्षा अधिकारीहरुसँग छलफल गरेका हुन् । बुधबार साँझ राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिएका सुरक्षा अधिकारीहरु र पूर्वसुरक्षा अधिकारीहरूसँग शीतल निवासमा छलफल गरेका हुन् ।

दोस्रो कार्यकालको सकिनै लाग्दा उनले आफ्ना सुरक्षा अधिकारीहरुलाई बोलाएर धन्यवाद ज्ञापन गरेको स्रोतको भनाइ छ । भेटमा नेपाली सेनासहितका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको बताइएको छ । यस छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भण्डारीले पछिल्लो समय अन्य विभिन्न पेसा व्यवसायका व्यक्तिहरूलाई पनि भेट गरेका छन् । सन्देशसहित फिर्ता पठाइएको नागरिकता विधेयक संसदबाट जस्ताको तस्तै पास गरेपछि राष्ट्रपति भण्डारीले छलफललाई तिव्रता दिएका छन् । उनले केही दिनअघि कानुन व्यवसायीहरुसँग सम्वाद गरेका थिए ।