राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्ने
काठमाडौं- सरकारले जस्ताको त्यस्तै पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगर्ने भएकी छन् । सन्देशसहित राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विधेयक फेरि प्रमाणीकरण नगर्ने भएकी हुन् ।
एकातिर सर्वोच्च अदालतले विधेयकविरुद्ध परेको रिटमा फैसला नभएको र जनस्तरबाट नै यसको विरोध भएकाले विधेयक प्रमाणीकरण नगर्ने तयारी भैरहेको बताइएको छ ।
संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएको विधेयक अहिले राष्ट्रपति कार्यालयले भने प्रमाणीकरण गर्ला कि नगर्ला भन्ने चासोको बीच राष्ट्रपति कार्यलयले भने यस्तो तयारी गरेको हो ।
संविधानको धारा ११३ को उपधारा ३ अनुसार सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक संघीय संसद्को दुबै सदनले पारित गरी भदौ २० गते राष्ट्रपति कार्यालयमा पेश गरेको थियो।
उक्त विधेयक प्रमाणिकरण गर्ने आज राति १२ बजेसम्मको समय रहेको छ। तर, अहिलेसम्म प्रमाणिकरण गर्ने कुनै तयारी नभएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। समयसीमा सकिन २ घण्टाभन्दा कम समय बाँकी रहँदा पनि विधेयक प्रमाणीकरणको कुनै तयारी नभएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
लामो परामर्शपछि राष्ट्रपति भण्डारीले यस्तो निर्णयमा पुगेको बताइएको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे त्यो स्वतः निष्क्रिय हुने र पहिलाकै व्यवस्था कार्यान्वयन हुने उनले बताए।
यसअघि पहिलो पटक संसदको दुवै सदनबाट पारित भएर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै संसदमै फिर्ता पठाएकी थिइन्। राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरणका लागि गएको विधेयकका विषयमा सरोकारवाला, विज्ञ, कानुनविद्, राजनीतिक दलका नेताहरुसँग छलफल पनि गरेकी थिइन्।
तर, संविधानविद्हरुले भने राष्ट्रपतिले दुबै सदनबाट पारित भएको विधेयक १५ दिनभित्र प्रमाणिकरण नगरे संविधान नमानेको ठहरिने बताएका छन्।