तीजमा राष्ट्रपतिको संदेश: तीज नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने माध्यम हो - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

तीजमा राष्ट्रपतिको संदेश: तीज नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने माध्यम हो



काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यसपर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास ब्यक्त गरेकी छिन ।

नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिनेमा जोड गरेकी छिन ।

‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु’, आफ्नो शुभकामना सन्देशमा राष्ट्रपतिले भनेकी छन् ।

‘चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु’ राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।