भैरहवा एयरपोर्ट अन्तराष्ट्रिय होइन, दलालले ठग्लान ! - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

भैरहवा एयरपोर्ट अन्तराष्ट्रिय होइन, दलालले ठग्लान !



हिमालपोष्ट/काठमाडौं-

तपाईँले भैरहवामा बन्दै गरेको विमानस्थल अन्तराष्ट्रिय हो भन्ने बुझ्नुभएको होला, पत्रपत्रिकामा वा विभिन्न प्रयोजनले फैलाइएको यो हल्ला सत्य होइन, निराधार हो । यो विमानस्थललाई अन्तराष्ट्रिय उडान हुने र वैदेशिक यात्रामा जानेहरुलाई विकल्प बन्ने समेत हल्ला मच्चाइएको छ । यो सबै नियोजित हल्ला मात्र हो ।

पोखरा र भैरहवामा बन्दै गरेको विमानस्थल क्षेत्रीय मात्रै हुन । अन्तराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल बनाउन लागिएको हो, त्यहाँबाट अन्तराष्ट्रिय उडान भने हुँदैन ।

जग्गा व्यापारीहरूले राम्रो भाउ बनाउन सुनियोजित रूपमा फैलाएको यो हल्लाको सिकार धेरै बनेका छन् । अन्तराष्ट्रिय विमानस्थल भनेर यति धेरै हल्ला चलाइयो कि त्यहाँका स्थानीयहरु पनि गुमराहमा परे यसलाई अन्तराष्ट्रिय विमानस्थलको रूपमा लिन थाले । हाल भैरहवाबाट काठमाडौँको लागि मात्र उडान हुन्छ भने यो विमानस्थल बनेपछि देशका अन्य ठाउँको लागि पनि उडान हुनेछ । तर डोमेस्टिक उडान मात्र ।

अन्तराष्ट्रिय एयरपोर्ट भनेर हल्ला धेरै भएपछि हिमालपोष्टले यसको विषयमा पर्दा उघार्ने प्रयास गरेको छ। सीमित स्वार्थको लागि फैलाइएको हल्लाको पछाडि लागेर धेरैले घर घडेरी किन्ने देखि व्यवसाय सुरु गर्ने तयारी पनि गरे तर, बिस्तारै हल्लाको पर्दाफास भने हुँदै छ । अब १ वर्षमा उडान गर्न मिल्ने गरी तयार हुँदै गरेको यो विमानस्थलमा काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र बारामा बन्ने अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नमिल्दा वा आपतकालिन आवश्यकता पर्दा मात्र अन्तराष्ट्रिय विमानहरु अवतरण गर्नको लागि मात्र प्रयोग गरिने छ ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार राज्यले अहिलेसम्म अन्तराष्ट्रिय उडान गर्ने भनेर कुनै प्रचार नगरेको तर अन्तराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल भनेर नामकरण गरेको बताइन्छ । अन्तराष्ट्रिय विमान उडान वा अवतरण गर्दा आपतकालीन समयमा मात्र गौतमबुद्ध विमानस्थललाई प्रयोग गरिने प्राधिकरणका एक अधिकारीले जानकारी गराए  । जस्तै केही दिन अगाडी यु एस बङ्गलाको विमान दुर्घटना हुँदा लामो समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नै बन्द गर्नु पर्‍यो, यस्तो समयमा अन्यत्रबाट उडान र अवतरण गर्न नेपालमा विकल्प छैन । कुनै विमानलाई तत्काल ल्यान्डिङ गर्नु पर्दा पनि विकल्प छैन त्यसैको विकल्पको रूपमा मात्र प्रयोग गरिने छ । उनले भने’

कसले फैलायो हल्ला ?

खासमा यो विमानस्थलको स्तरोन्नति हुने भएपछि अन्तराष्ट्रिय स्तरको बिमान्स्थल बन्ने भनेर पत्रपत्रिका र सञ्चार माध्यममा खबर आयो र नाम पनि गौतमबुद्ध क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल राखियो । यसैलाई आधार बनाएर त्यहाँ स्थानीय रूपमा जग्गाको किनबेच गर्नेहरुले प्रोपोगाण्डा तयार गरे, मात्र आफ्नो निजी स्वार्थको लागि । रुपन्देहीमा जग्गाको भाउ आकासिए पछि जग्गाको कारोबारीहरू भैरहवा क्षेत्रमा सल्बलाए । ग्रामीण क्षेत्रबाट स्थानान्तरण गरेर आउनेहरुलाई जग्गा बेच्न आकर्षक प्रलोभनका रूपमा बनाइएको यो हतकण्डा मात्र हो ।

खासगरी पछिल्लो समय गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जाबाट बसाई सराई गरेर आउनेहरुको सङ्ख्या उल्लेख्य छ । खाडी मुलुक र भारतमा काम गरेर रुपन्देहीमा घर घडेरी जोड्ने यो क्षेत्रका बासिन्दाको सपना भैसकेको छ । तर पछिल्लो समय सम्म पनि उनीहरूको रोजाई भने भैरहवा क्षेत्र हुन सकेन, भैरहवा भारतको प्रभावित क्षेत्र भएकोले पनि पहाडियाहरुको रोजाइमा परेन । बरु गोरुसिङ्गे देखि बुटवल सम्म र बुटवल देखि मङ्गलापुर सम्म मात्र रोजाई बन्यो ।  बुटवल आसपासमा जग्गाको मूल्य अत्यधिक बढाइएपछि जग्गा व्यापारीहरूले उपयुक्त मुद्दाको रूपमा विमानस्थललाई उठाएको बुझिन्छ ।