कांग्रेसभित्र नयाँ समूहको उदय- नयाँ अभ्यास, नयाँ रणनीति
काठमाडौं– दुई समूहमा देखिएको नेपाली कांग्रेसमा अर्को हस्तक्षेपकारी समूहको उदय भएको छ। सभापति शेरबहादुर देउवाको संस्थापन समूह एकातिर थियो भने अर्कातिर नेता शेखर कोइरालाको समूह थियो। तर, निर्वाचन सकिनासाथ कोइरालालाई समेत ओझेलमा पारेर अर्को हस्तक्षेपकारी समूहको नेतृत्व गगन थापाले लिएका छन्।
उनको उदयमा प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको पनि साथ रहेको छ। कांग्रेस महाधिवेशनअघि थापा, कोइराला, शर्मा, प्रकाशमान सिंह, पौडेल र कृष्ण सिटौला समूहमा थिए। दुई महामन्त्री र एक महामन्त्रीका प्रत्यासी तीनै जनाले आवधिक निर्वाचनमा जीत निकालेका छन्।
चुनावअघि नै प्रधानमन्त्री बन्ने अभियानसहित मैदानमा उत्रिएका थापाले कांग्रेसभित्र राजनीतिक कद बढाउनका लागि संसदीय दलको नेतामा निर्वाचन लड्ने तय गरिसकेका छन्। त्यसको गृहकार्यमा शर्मा र पौडेलले पनि साथ दिएका छन्। थापाको समूहमा अर्जुननरसिंह केसीलगायतका ज्येष्ठ नेताको पनि साथ रहेको बताइएको छ।
संस्थापनइतरको नेताका रुपमा रहे पनि कोइरालाले निर्वाचनका बेला सभापति देउवासँग सम्झौता गरेका थिए। उक्त सम्झौतामा आन्तरिक असहमति जनाएका थापाले सोही बेला प्रधानमन्त्रीका लागि फाइट गर्न संसदीय दलको नेतामा उठ्ने घोषणा गरेका थिए।
उनले कोइरालाभन्दा एक कदम अगाडि नै उक्त घोषणा गरेका थिए। संसदीय दलमा लड्ने विषयमा कोइरालासँग कुनै परामर्श नहुँदा थापालाई सशंकित हिसाबले हेरिएको थियो।
थापाको घोषणालाई शर्माको साथले युवा पंक्तिको अलग समूह बन्ने निश्चित जस्तै बन्यो। उच्च स्रोतले भन्यो,‘बुढा नेतालाई सल्लाहकार राखी अब देश चलाउने अभियानमा युवा अगाडि बढ्ने तवरले नयाँ समूह खडा हुनेछ’, कांग्रेस स्रोतले भन्यो,‘संसदीय चुनाव जीतेर आएका युवाले थापालाई नै सहयोग गर्नेछन्।’
उता पौडेलले खुलेर थापालाई साथ दिने नभने पनि संकेतचाहिँ गरेका छन्। उनले पार्टीमा परिवर्तन हुनुपर्छ र त्यसको पक्षधरता रहेको भन्ने सांकेतिक उत्तर त दिएका छन् तर खुलेर बोलेका छैनन्।
उच्च स्रोतहरूका अनुसार चुनावअघि नै तेस्रो समूह निर्माण गर्ने सहमतिअनुसार नै पौडेललाई थापाको सहयोग रहेको थियो। यसैकारण पनि पौडेलको क्षेत्रमा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी नदिएको बताइन्छ। यसमा थापा र लामिछानेको सहमति बनेको पनि चर्चा छ।
माओवादीका केन्द्रीय सदस्य दिपशिखाले त खुलेरै थापा र लामिछानेको साँठगाँठ रहेको पनि बताए। कतिपय कांग्रेसका उच्च तहका नेताले पनि सोही शंका गर्दै टिप्पणी गर्दै आएका छन्।
विद्यार्थी राजनीतिको पृष्ठभूमी भएका सबै युवालाई एकत्रित गरी थापाले संस्थापन पक्षलाई चुनौति दिने भएका छन्। तेस्रो समूहले संस्थापनभित्र देखिएको संसदीय दलको दौडकाबीच जीत निकाल्ने प्रक्षेपण गरिएको छ।
संस्थापन पक्षका नेता रामचन्द्र पौडेल प्रधानमन्त्री पदका लागि दौडमा छन्। सभापति देउवा त यसै पनि उक्त पदका सोलिड उम्मेदवार हुन्। ‘बरिष्ठ नेता पौडेलले संसदीय दलमा भाग लिनुभयो भने देउवाको मत काटिने र नयाँ पुस्ता हावी हुनसक्ने हिसाब गरिएको छ’, स्रोतले भन्यो,‘यसरी प्रभावकारी रुपमा युवा पुस्ता आउन सक्ने अनुमान गरिएको हो।’
कांग्रेसभित्र संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने वैधानिक व्यवस्था छ। थापाको यो तिव्र गतिको दौडले कोइरालालाई कछुवा चालमा पुराएको छ। यसैकारण पनि थापालाई समर्थन गर्ने विषयमा कोइरालाले हतार हुने प्रतिक्रिया दिइरहेका छन्।
यदि युवाको टोलीको प्रयासले संसदीय दलमा थापालाई जीतायो भने कांग्रेस नेतृत्वमा नै भुइँचालो जाने र परिवर्तन सुरु हुने पनि बताइन्छ। समानुपातिकसहितका सांसदको मनोनयनका कारण देउवा नै हावी हुने देखिए पनि थापाको टोलीले हस्तक्षेपचाहिँ गरेरै छाड्ने आँकलन गरिएको छ।