यी हुन बेल्जियमले बनाएका ३ रेकर्ड - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

यी हुन बेल्जियमले बनाएका ३ रेकर्ड



काठमाडौं-  २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको ६३ खेल सकिएका छन्। शनिबार तेस्रो स्थानका लागि भएको खेलपछि अब फाइनल बाहेकका खेल सकिएका हुन्।

फाइनलमा आइतबार क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।

शनिबार भएको प्लेअफ खेलमा बेल्जियमले इंग्ल्यान्डलाई २-० गोलले पराजित गर्दै तेस्रो स्थान हात पार्‍यो। बेल्जियमको जितमा थोमस मुनियर र इडिन हजार्डले गोल गरे। जितसँगै बेल्जिमयले ३ वटा रेकर्ड बनायो।

१‍. जारी विश्वकपमा बेल्जियमको यो छैटौं जित हो। समूह चरण तीन जित हात पारेको बेल्जियमले अन्तिम १६ मा जापान र क्वार्टरफाइनलमा ब्राजिललाई हराएको थियो। सेमिफाइनलमा फ्रान्ससँग पराजित भएपनि उसले तेस्रो स्थानको खेलमा इंग्ल्यान्डलाई पराजित गर्‍यो।

एकै विश्वकपमा बेल्जियमले इंग्ल्यान्डलाई २ पटक पराजित गर्‍यो। यसअघि बेल्जियमले समूह चरणमा पनि इंग्ल्यान्डलाई पराजित गरेको थियो। ६ जित निकालेपनि विश्वकपको उपाधि जित्न नसक्ने बेल्जियम चौथो टिम बन्यो। यसअघि २०१० मा नेदरल्यान्ड्स, १९९० मा इटाली र १९७४ मा पोल्यान्डले ६ जित निकाल्दा पनि उपाधि जित्न सकेका थिएनन्।

२. बेल्जियमले तेस्रो स्थात हात पारेसँगै विश्वकप इतिहासमै ठूलो सफलता हात पार्न सफल भयो। यसअघि बेल्जियमको राम्रो नतिजा सन् १९८६ मा चौथो स्थान र २०१४ मा क्वार्टरफाइनलमा पुग्नु थियो।

३. बेल्जियमका लागि दश फरक खेलाडीले गोल गर्न सफल भए। बेल्जियमका लागि मेउनियर दशौं गोल गर्ने खेलाडी बने। एकै विश्वकपमा दश खेलाडीले गोल गर्ने बेल्जियम तेस्रो टिम बन्यो। यसअघि सन् १९८२ मा फ्रान्स र २००६ मा इटालीका १० खेलाडीले गोल गरेका थिए।

विश्वकपमा उपाधि दाबेदार मानिएको बेल्जियमले अन्तिम १६ को जापान विरुद्धको खेलमा २-० गोलले पछि परेर पनि जित निकालेर सनसनी मच्चायो। खेलमा बेल्जियम ३-२ ले विजयी हुँदै अन्तिम ८ मा पुगेको थियो। यस्तै क्वार्टरफाइनलमा बेल्जिमयले पाँच पटकको विश्वविजेता ब्राजिललाई २-० गोलले पराजित गरेको थियो।