कञ्चनपुरको बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला सञ्चालन  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कञ्चनपुरको बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला सञ्चालन 



हरिश चन्द्र बाग / कञ्चनपुर ।
कञ्चनपुरको बेलौरीमा बिहीबारबाट प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला सञ्चालन गरिएको छ । “कृषि, पर्यटन, उद्योग र व्यापार : समृद्ध बेलौरीको आधार” भन्ने मूल नारा सहित बेलौरी उद्योग वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सह–आयोजनामा बिहिबार देखि १० दिनसम्मका लागि महोत्सव सञ्चालन गरिएको बताइएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यतामा बिहीबार उक्त महोत्सवको उद्घाटन गरिएको हो ।

बेलौरी–खजुरीया भन्सार नाका स्तरोन्नति, दोंदा नदि कटान व्यवस्थापन, कलुवापुर–बेलौरी सडगखण्ड तथा डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडगखण्ड शीघ्र निर्माणका लागि सरकारलाई दबाब दिने र यस क्षेत्रको कला, संस्कृति, भेषभूषा तथा प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गरी पर्यटन विकासमा टेवा पुगाउने र औद्योगिक एवं व्यापारिक प्रबर्धनका लागि कञ्चनपुरको बेलौरीमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, व्यापार प्रबर्द्धन, मत्स्य विकास, धार्मिक एवं प्राकृतिक सम्पदाको प्रचारप्रसार तथा प्रबर्द्धन मुख्य आकर्षणको रूपमा रहेको बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरीले बताउनु भयो । महोत्सवमा एक सय पचास स्टल राखिएका छन् । महोत्सव अवधिभर कञ्चनपुर, कैलाली तथा सिमावर्ती भारतीय क्षेत्रबाट समेत गरी करिब एक लाख जना अवलोकनाका लागि आउने प्रचारप्रसार समितिका संयोजक यज्ञ प्रसाद कँडेलले दाबी गर्नुभयो ।

महोत्सव कार्यक्रममा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागिता रहने बताइएको छ । बिहिबार आयोजित उद्घाटन समारोहमा विभिन्न जातजातीका नाच तथा झाँकी समेत प्रदर्शन गरिएका छन् । शुक्रबार देखि प्रवेशका लागि विद्यार्थीहरुलाई रु. ३० र अन्यलाई रु. ५० शुल्क लाग्ने आयोजकले जनाएको छ । महोत्सव अवधिभर प्रति टिकट रु. १ का दरले प्रत्येक टिकटबाट संकलित रकम सर्प दंश उपचार केन्द्र स्थापनाका लागि विनियोजन गरिने आयोजक बेलौरी उद्योग बाणिज्य संघले जनाएको छ ।

बेलौरीलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक नाका बनाउन कटिबद्ध छु : मन्त्री बिना मगर 

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी मन्त्री बिना मगरले बेलौरीलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक नाका बनाउन कटिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै उनले यस्तो घोषणाा गरेकी हुन् । बेलौरी उद्योग वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सह–आयोजनामा बिहिबार देखि सञ्चालन भएको प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री बिना मगरले कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधिहरुसँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यस्तै उहाँले सबै नागरीकलाई स्वच्छ खानेपानीमा सहज पहुँच हुने गरी काम गर्ने बचन दिनुभयो ।

समारोहमा पूर्व सहायक मन्त्री लाल बहादुर विश्वकर्मा, पूर्व सभाषद् टेकेन्द्र भट्ट, प्रदेश सभा सदस्य कुलबीर चौधरी, बेलौरी, पुनर्वास, बेलडाँडी र लालझाडीका प्रमुख एवं अन्य निर्वाचित जनप्रतिनिधिहरु, व्यवसायी र विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, समाजसेवी, बुद्धिजीविहरुले सम्बोधन गर्दै जिल्लाको दक्षिणी क्षेत्रको पर्यटकीय लगायत समग्र विकासमा जोड दिनुभएको छ ।

खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन कांग्रेशले गर्यो महोत्सव नै बहिष्कार 

कञ्चनपुरको बेलौरीमा बिहिबार देखि आयोजित प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक, व्यापार मेलाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा खानेपानी मन्त्री बिना मगर आउँदै गर्दा कालो झण्डा देखाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका कार्यकर्ताहरुले बिहीवार दिनभर बाटो ढुके । मध्यान्ह १२ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम झन्डै साढे ४ घण्टा ढिला गरी अचानक मन्त्री बिना मगर कार्यक्रम स्थल पुग्दा झुक्किएको नेपाली कांग्रेशले महोत्सव नै बहिष्कार गरेको छ ।