कोरोना बियर र कोरोना भाइरसको के सम्बन्ध छ ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कोरोना बियर र कोरोना भाइरसको के सम्बन्ध छ ?



एजेन्सी- कोरोना भाइरसले चीनमा महामारीको रुप दिइरहेको छ । हालसम्म त्यहाँ २१३ जनाले भाइरसका कारण ज्यान गुमाइसकेका छन् भने झण्डै १० हजार मानिस संक्रमित भएका छन् ।

सुरुमा चीनको वुहान शहरमा देखिएको नयाँ भाइरस कहाँ र केबाट उत्पन्न भयो भनेर संसारभर चासो बढ्न थालेको छ ।

यसैबीच केही मानिसहरूले कोरोना नामको बियरसँग जोडेर नयाँ भाइरसबारे चर्चा गर्न थालेका छन् । कोरोना एक्स्ट्रा मेक्सिकोमा उत्पादन हुने एक बियरको नाम हो ।

विश्वभर भाइरस फैलिँदै गएका बेला अनलाइनमा ‘कोरोना बियर भाइरस’, ‘बियर भाइरस’ र ‘बियर कोरोना भाइरस’ जस्ता कुराको निकै खोजी गरिएको छ । जनवरी १८ यता गुगलमा यी शब्द टाइप गरेर खोजी गर्ने कार्य बढ्दै गएको पाइन्छ ।

जनवरी १८ देखि २६ गतेसम्मको अवधिमा ‘कोरोना बियर भाइरस’ को खोजी २३ सय प्रतिशतले बढेको छ । ‘बियर भाइरस’ को खोजीमा ७४४ प्रतिशत र ‘बियर कोरोनाभाइरस’को खोजी ३२ सय ३३ प्रतिशतले बढेको छ ।

खोजी गरिएको यो दर आफैंमा निकै उच्च हो । गुगलको सर्च इन्जिन नै लोकप्रिय शब्दावलीलाई अटो सजेस्ट गर्ने गरी बनाइएको हुँदा खोजी गर्ने दर बढ्न गएको पनि हुन सक्छ ।

पहिलो पटक कोरोना भाइरस गत वर्षको डिसेम्बर ८ मा चीनको वुहान शहरमा फेला परेको थियो । त्यसपछि उक्त भाइरस चीनभर फैलिएको छ । साथै २४ वटा मुलुकमा भाइरस संक्रमित बिरामी भेटिएका छन् ।

संक्रमित हुने, ज्यान गुमाउने र फैलिने दर बढ्दै गएपछि विश्वभरका सञ्चार माध्यमको पहिलो हेडलाइन नै कोरोना भाइरस बनिरहेको छ ।

सामुन्द्रिक खानाबाट कोरोना भाइरस मानिसमा सरेको वैज्ञानिकले अनुमान गरेका छन् । यता मेक्सिकोको एक बियरसँग नाम मिलेपछि भाइरस र बियरको सम्बन्धबारे चर्चा हुन थालेको छ । जुन स्वभाविक पनि छ ।

तर मेक्सिकन बियर र नयाँ भाइरसबीच कुनै सम्बन्ध छैन वा त्यो सम्बन्ध शाब्दिक अर्थमा मात्रै सीमित छ ।

माइक्रोस्कोपबाट हेर्दा नयाँ भाइरसको मुख्य भागबाट विभिन्न चुच्चा टुप्पा बाहिर निस्किएका देखिएको थियो । र भाइरस एक झुण्ड वा भीड जस्तो देखिएपछि ‘कोरोना’ नाम राखिएको हो ।

ल्याटिन भाषामा ‘कोरोना’को अर्थ गोलो समूह वा झुण्ड भन्ने हुन्छ । त्यस्तै स्पेनिश भाषामा पनि उक्त शब्दको अर्थ गोलो ‘समूह वा झुण्ड’ हो । अंग्रेजीमा कोरोनाको अर्थ वृत्त जस्तो देखिने शारीरिक अंग हुन्छ ।

कोरोना बियर मेक्सिकोमा उत्पादन गरिन्छ । महामारीको रुप लिँदै गरेको नयाँ भाइरस र बियरको नाम मिले पनि बियर कम्पनीको शेयर बजारमा यसले हालसम्म कुनै नकरात्मक प्रभाव पारेको छैन ।

केही समयअघि जुनास टुहकुरी नाकमा ट्विटर प्रयोगकर्ताले नयाँ भाइरसले महामारीको रुप लिँदै गए पनि कोरोना बियरको शेयर मूल्यमा नकरात्मक प्रभाव नपरेको बताएका थिए ।

कोरोना बियर कम्पनीकी एक प्रतिनिधि म्यागी बोम्यानले समेत बियरको ब्राण्डमा कुनै नकरात्मक प्रभाव नपरेको बताउँछिन् । ‘हालसम्म ग्राहकहरूले भाइरस र हाम्रो व्यवसायबीच कुनै सम्बन्ध नरहेको बुझेका छन्’, बोम्यानले भनिन् ।

रोग र व्यवसायिक ब्राण्डको नाम मिलेको यो पहिलो पटक भने होइन । न्युयोर्क टाइम्मसका अनुसार यसअघि सन् १९८० को दशकमा महामारीको रुप लिएको एचआईभी/एड्स र एक क्यान्डी (एक प्रकारको मिठाइ) को नाम मिल्न गएको थियो ।

त्यतिबेला उक्त रोग र एड्स नामक डाइट क्याण्डीको नाम पनि एउटै परेको थियो । महामारी र क्यान्डीको नाम मिलेपछि क्यान्डीको कारोबार ५० प्रतिशतले घटेको थियो ।

वुहानबाट फैलिएको नयाँ भाइरसले अन्य गलत तुलना वा कथा (न्यारेटिभ) समेत उत्पन्न गरेको छ । कानोन नामक षडयन्त्रको सिद्धान्तका समर्थकले चूर्ण (ब्लिच) खाने हो भने कोरोना भाइरस मर्ने तर्क गर्न थालेका छन् ।