बेदुराम भुसाल बने एकीकृत समाजवादीको महासचिव - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

बेदुराम भुसाल बने एकीकृत समाजवादीको महासचिव



काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले नेता बेदुराम भुसाललाई महासचिवको जिम्मेवारी दिएको छ। पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशमा उनलाई महासचिवको जिम्मेवारी दिइएको जनाइएको छ ।

अन्तर्पार्टी निर्देशनमा दैनिक कार्य सम्पादन गर्न भुसालको नेतृत्वमा सचिवालय गठन गरिएको जनाइएको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर्पार्टी निर्देशन-१ मा बताइए अनुसार भुसालले महासचिव सरहको जिम्मेवारी पाएका छन् ।

एकीकृत समाजवादीको विधानमा महासचिव, उपमहासचिव र सचिवहरू रहेको केन्द्रीय सचिवालय गठन गर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय सम्मेलन नभएसम्मका लागि भुसालको नेतृत्वमा सचिवालय गठन गरिएको हो।

सचिवालयका सदस्यमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ छन्। त्यस्तै, गंगालाल तुलाधरलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ।

यसअघि एकीकृत समाजवादीले ६ वटा प्रदेशका इन्चार्ज तोकेको थियो। यससँगै केही विभागको जिम्मेवारी पनि बाँडफाँड गरेको छ।

एकीकृत समाजवादीले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको थियो। अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, यसअघि नेकपा (एमाले)मा छँदा सदस्य रहेका मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरेको थियो।

यससँगै खनालको नेतृत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा कमिटी पनि गठन गरेको छ। जसमा बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक सदस्य छन्।