बेदुराम भुसालले एमाले छाडेपछि पार्टीमा खैलाबैला - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बेदुराम भुसालले एमाले छाडेपछि पार्टीमा खैलाबैला



काठमाडौँ- एमालेको सांसद रहेका नेता बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको हैसियतमा व्यवहार होस् भन्दै संसद् सचिवालयलाई पत्र लेखेपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ । उनको यो पत्रको बारेमा सर्वत्र चर्चा भैरहेको छ भने एमालेभित्र छुट्टै बहस सुरू भएको छ ।

एमाले विवाद उत्कर्षमा पुगेका बेला भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै नेकपाबाट निर्वाचित भएकाले आफू स्वतन्त्र रुपमा राष्ट्रिय सभा सदस्यको हैसियतमा रहन चाहेको बताएका छन् । राष्ट्रिय सभा सदस्य रहेका भुसालले संसद् सचिवालयमा पत्र लेख्दै आफू स्वतन्त्र सांसद रहेको जानकारी गराएका हुन् ।

नेता भुसालले आफू तत्कालीन नेकपाको हैसियतमा निर्वाचित भएको र त्यहीअनुसार आफू स्वतन्त्र रहने गरी संसद् सचिवालयमा पत्रचार गरेको बताए । एमालेभित्र अन्तरविरोध उत्कर्षमा पुगेका बेला भुसालको यस्तो निर्णय आएको हो । उनी तत्कालीन नेकपाको हैसियतमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनले पत्रमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि आफू दलविहीन भएको दाबी गरेका छन् । एमालेमा उनी माधवकुमार नेपाल निकट नेताका रुपमा चिनिन्छन् ।

एमालेभित्रको माधव कुमार नेपाल समूहका महत्वपूर्ण नेता मानिएका उनले आफूलाई स्वतन्त्र हैसियतमा प्रस्तुत गरेपछि एमालेभित्र तरंग उत्पन्न भएको छ । कतिपयले उनले माधव नेपालको साथ छाडेको रुपमा पनि हेरे पनि आफु स्वतन्त्रको हैसियतमा हुने खोजेको दावी गरेका छन् ।

एमालेभित्र विवाद भइरहँदा भुसालले आफू स्वतन्त्र सांसद रहेको बताउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।