बेचिएकी महिलाले नै निकालिन दिल्लीकाे जीवी रोडमा बेचिएकी नेपाली युवती - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बेचिएकी महिलाले नै निकालिन दिल्लीकाे जीवी रोडमा बेचिएकी नेपाली युवती



इन्द्र कमल जैरु /नयाँ दिल्ली 

हिजो आज थोरै मात्र पैसाका लागि मानवताको खरिदबिक्री गरिरहेका व्यक्तिको बाहुल्यता धेरै छ । कतैबाट थोरै फाइदा मात्रै पाइयोस् मान्छेले मान्छेलाई पशु सरह बेची रहेको छ। उसो त अर्काको पशु-चौपाया समेत बेच्न अप्ठ¬ारो समाजमा अहिले थाहै नदिई कुनै अपरिचित मान्छेले मान्छेको मोल मोलाई मात्रै होइन कोसौँ टाढा लगेर बेची रहेको छ। यस्तै ४ महिनाको अन्तरालमा साथी बनाएर एक युवती बेचिएकी छन् ।

केही महिनाको घुलमिल र त्यसपछि घनिष्ठ साथी बनाएर दिल्लीको कुख्यात कोठीमा बेचिएकी ती युवतीको उद्धार गरिएको छ। जीवी रोडमा शरीर बेच्न बाध्य एक महिलाको सहयोगमा कोठीबाट उम्कन सफल भएपछि उनलाई मानव बेचविखनविरुद्ध काम गर्ने संस्था के आई नेपालले अहिले नेपाल पुर्‍याएको छ । जानकारीका अनुसार २० वर्षीया ती युवतीलाई काठमाडौँ बसाईका क्रममा साथी बनेकी २५ वर्षिया रिया चौधरी नाम बताउने महिलाले घुम्ने बहानामा दिल्लीको जीवी रोडमा बेचेकी हुन । पीडित युवती करिब ४ महिना पहिलेदेखि काठमाडौँमा जागिर गरिरहेकी थिइन । त्यसै दौरान षडयन्त्रपूर्वक साथी बनेकी रिया चौधरीले दिल्ली घुमेर आउने बहानामा उनको सौदा गरेकी हुन ।

हिमाल पोस्टसँग कुरा गर्दै पीडित महिलाले भनिन ‘पछिल्लो कयौँ महिनादेखि सँगै उठबस मात्रै हैन दुखसुखका कुरा गर्ने गरेकी साथीले मलाई एक दिन वेश्यालयमा बेच्नेछिन् भन्ने थाहै भएन’। उनले आफू पछिल्लो ४ महिनादेखि काठमाडौँमा एक वाईफाईको कम्पनीका लागि मार्केटिङ गर्ने गरेको र त्यसै दौरान करिब २५ वर्षकी देखिने युवती रिया चौधरीको सम्पर्कमा आएर साथी बनेको बताइन । ती युवतीले निकै आत्मीयता देखाएपछि उनीसँग सुखदुखका कुरा समेत गर्ने गरेको उनले सुनाइन । यसैबीचमा रिया चौधरीले दिल्ली घुमेर आउने प्रस्ताव गरेपछि आफूले स्वीकार गरेको पीडित युवतीले बताएकी छन् ।

रियाले आफूलाई दिल्ली लिएर जाँदा ट¬ाक्सीमा बसाएर जोगबनी नाका पार गराएको र सीमा पार गर्नुअघि खाना खुवाएको भन्दै खानामा केही मिसाएकाले होला शायद त्यसपछि आफूलाई निद्रा लागेको उनको भनाई छ । पीडित युवतीले आफूलाई रियाले रेलमार्फत दिल्ली पुर्‍याएर जीवी रोडमा छोडेको बताइन । उनले थपिन “रिया त्यसदिन आफूलाई छोडेर गएपछि अर्को दिन आई तर मसँग भएको नागरिकता, मोबाइल र ब्यागसमेत खोसेर फरार भई”। त्यसपछि आफू वेश्यालयमा फसेको थाहा पाएपछि आफूले लुकाएर राखेको अर्को मोबाइलबाट दिल्लीमा रहेका एक जना चिनजानका दाईलाई फोन गरेर जीवी रोडमा बोलाएको र बाहिर निस्केको उनले बताएकी छन् । उनले त्यसै कोठीमा रहेकी एक महिलाले त्यहाँको गेट खोल्दिएको र बाहिर निस्केपछि गेट लगाएको बताइन । उनले भनिन “ती दिदीले सहयोग नगरेको भए शायद म बाहिर निस्कन सक्ने थिएन’ । त्यसदिन कोठीका सञ्चालक व्यवस्थापकहरू बैठकका लागि कतै गएकाले पनि भाग्न सकेको उनी सुनाउछिन । उनले भनिन ‘ मैले ती दिदीलाई पनि सँगै जाँउ भन्दा उनले यो नर्कमा फसेको ४/५  वर्ष भइसक्यो, अब यहाँबाट निस्के पनि जाने कुनै ठाउँ छैन तिमी जाँउ भनेकी थिइन ।” कोठीको बाहिर निस्केपछि त्यहाँ चिनेको दाईसँग भेट भएको र त्यसपछि दाइले के आई नेपालका नवीन जोशीलाई फोन गरेपछि नेपाल आउन सफल भएको बताएकी छन् ।

हिमाल पोस्टसँग कुरा गर्दै के आई नेपालका दिल्ली प्रतिनिधि नवीन जोशीले भने ‘मानव बेचविखनविरुद्ध हाम्रो प्रयास जारी छ।” उनले भने ” पाइलापिच्छे दलालको ताँती रहेको छ र कुन रूपमा दलाल छ भन्ने कुरा पनि थाहा नहुने भएकाले महिलाहरूले हरेक पाइलामा विचार पुर्‍याउनु पर्ने बताए ।” यो घटनाबारे नेपाल प्रहरीलाई जानकारी गराइएको बताउँदै दलाल युवतीको बारेमा छिट्टै थाहा हुनेमा आफू आशावादी रहेको जोशीको भनाई थियो ।