चाडपर्वमा बजार अनुगमन भएन - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

चाडपर्वमा बजार अनुगमन भएन



विशाल पाण्डेय / सुखड
चाडपर्वका बेला बिशेष निगरानी गर्नु पर्ने बजार अनुगमन यसपालि भने हुन सकेको छैन । कैलालीको हाईवे क्षेत्रका बिभिन्न बजारहरुमा यसपाली अनुगमन नभएको पाईएको छ ।

चाडपर्व नजिकिएपछि व्यापारीहरूले म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण गरिरहेको हुन सक्ने र कालोबजारी मौलाएको भएपनि सम्बन्धित निकायले बजार अनुगमनमा चासो नदेखाएको स्थानीयहरुको भनाई छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिएको भएपनि हालसम्म बिभिन्न स्थानीय तहका अधिकांश बजारहरुमा अनुगमन नगरिएको पाईएको हो । मध्यवर्ती क्षेत्रमा पर्ने जिल्लाको घोडाघोडी, लम्की चुहा तथा गौरिगंगा नगरपालिकामा बजार अनुगमन गरिएको छैन भने बर्दगोरिया गाउँपालिकामा बजार अनुगमन गरेपनि प्रभावकारी भने हुन सकेन ।

गतवर्ष बजार अनुगमका लागि अनुगमन टोली आएपनि यसपालि भने अनुगमन नै नभएको सुखडका ब्यापारी होम आचार्यले बताए । यता घोडाघोडी नगरपालिकाकी उप–प्रमुख एमं अनुगमन संयोजक प्रेम कुमारी थापाले समन्वय तथा प्राबिधिक टोलीको अभावले बजार अनुगमन गर्न नसकिएको बताएकी छन् । दशैको बेलामा घोडाघोडी नगरपालिका-२ साडेपानी बजारमा अनुगमन गरिएको र तिहार लगत्तै नगर भित्रका अन्य बजार पनि अनुगमन गरिने उप प्रमुख थापाले बताइन् । उता लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाइले पनि प्राविधिक टोलि र अनुगमनका लागि आवश्यक सामाग्री नहुदा बजार अनुगमन नगरिएको बताए ।

त्यस्तै गौरीगंगा नगरपालिकाकी उप–प्रमुख अन्चला चौधरीले पहिलो चरणको अनुगमन गरेको र दोश्रो चरणको बजार अनुगमन गर्ने तयारी भईरहेको बताइन् । दशै अगाडि नगरका सम्पुर्ण वडाहरुमा अनुगमन गरिएको हो । उनले भनिन,’पहिलो चरणको अनुगमन गरि व्यापारीहरुलाई सम्झाएका छौ र लगत्तै दोस्रो चरणको अनुगमनको लागी पनि तयारी गरिरहेका छौँ ।’

बर्दगोरीया गाउँपालिकाले दशैमा बजार अनुगमन गरेपनि प्रभावकारीता भने नदेखिएको ब्यापारी ब्रिजेस रावलले बताए । बजार अनुगमन गर्नु राम्रो हो । उनले भने, ‘उचित ब्यवस्थापनका साथ निरन्तर बजार अनुगमन गर्नुपर्छ आँखा छल्ने बर्षमा एक दिन गरिने अनुगमनले राम्रो सन्देश दिदैन ।

हरेक स्थानीय तहमा उप–प्रमुख वा तोकिएको व्यक्तिको संयोजकत्वमा बजार अनुगमन समिति गठन हुने गरिएपनी त्यस्को प्रभावकारी खासै नदेखिएको घोडाघोडी उद्योग वाणिज्य संघले जनाएको छ । चाडपर्व जस्तो सम्बेदनशिल समयमा बजार अनुगमन नगरेको भन्दै स्थानियवासीले गुनासो समेत गरेका छन् ।