बतासको पक्षमा बोल्दै योगेशले दिए प्रेम आलेलाई ठेगान लगाउने चेतावनी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बतासको पक्षमा बोल्दै योगेशले दिए प्रेम आलेलाई ठेगान लगाउने चेतावनी



काठमाडौं- पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले हालका पर्यटनमन्त्री प्रेम आलेमाठी गम्भीर आरोप लगाउँदै आफ्नो ठेगानमा बस्न चेतावनी दिएका छन् । उनले ठेगानमा नबसे ठेगानमा लगाउने चेतावनी समेत दिएका छन् ।

पूर्वमन्त्री भट्टराईले पर्यटनमन्त्री प्रेम आलेलाई ठेगानमा बस्न र बोलीमा लगाम लगाउन सुझाव दिए । उनले भने, ‘प्रेम आलेसँग मेरो कुनै लडाइँ नै होइन । तर उनी आफ्नो ठेगानमा बसून्, बोलीमा लगाम लगाऊन् । म उनीजस्तो ढोंगी पनि होइन । उनी नेपालको हरियो वन भारततिर तस्करीमा लाग्दा म प्रजातन्त्रका लागि जेलमा थिएँ । आफू १० बोतल अवैध रक्सी ल्याउने अनि कसैले दुई बोतल ल्यायो भनेर झम्टिने स्टन्टबाजी म गर्दिनँ ।’

भट्टराईले आफूले नारायणहिटी संग्रहालयमा क्याफेटेरिया खोल्न निर्देशन दिएको स्वीकार गर्दै क्याफेटेरिया खोल्न नपाउने हो भने त्यहाँ निर्मित भवन किन नभत्काएको भनी प्रश्न उठाएका छन् ।

उनले भ्रष्ट, दलाल र कमिसनखोरलाई बचाउनका निम्ति मिडियाको खेल चलिरहेको आरोप पनि लगाए । भट्टराईले भने, ‘जोसँग विज्ञापन लिनु छ, लेऊ । जोसँग बसेर रक्सी खानु छ, खाऊ तर आनन्दराज बताससँग मेरो व्यावसायिक साझेदारी छ भने किन कुप्रचार गर्छौ ? कुनै फर्म, लगानी या शेयर छ भने किन देखाउन नसकेको ? बकम्फुसे कुरा गरेर हुन्छ ?’

प्राइम टाइम टेलिभिजनमा कुरा गर्दै पूर्वमन्त्री भट्टराईले भने, ‘म २०६७ साउन १५ मा संस्कृति तथा पर्यटन मन्त्री भएको हुँ । भ्रमण वर्ष मनाउने क्रममा म चार घन्टा नारायणहिटी संग्रहालय घुमें । त्यहाँ आगन्तुकका निम्ति विश्रामगृह, शौचालय, चमेनागृह केही देखिनँ । आगन्तुकको असुविधा पनि महसुस गरें । र, मैले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कफीसप सञ्चालनबारे बोलेको हुँ ।’

उनले आफ्नो पालामा नारायणहिटी संग्रहालयभित्र भवन नबनेको जिकिर गरे । भट्टराईले भने, ‘त्यहाँ २०६७-६८ तिरै क्याफ्टेरियाका निम्ति एकतले भवन बनिसकेको रहेछ । त्यतिबेला माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसपछि पनि खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । तर क्याफ्टेरिया सञ्चालनमा नआएपछि मैले बोल्नुपरेको हो ।

नारायणहिटी संग्रहालयभित्र क्याफ्टेरिया सञ्चालनका लागि बोलपत्र आह्वान भएको बारेमा आफूलाई जानकारी नभएको उनले बताए । उनले भने, ‘बोलपत्र खोल्न मन्त्री जाँदैन, यसबारे जवाफदेही हुने भनेको मन्त्रालयका सचिव र संग्रहालयका कार्यकारी निर्देशक हुन् । नेकपा विवादका कारण मैले यसबारे चासो दिन पनि सकिनँ । मैले २०७७ पुस १५ मा मन्त्री पदबाट राजीनामा दिएँ, पुस २९ गते बतास समूहले क्याफ्टेरिया सञ्चालन अनुमति पायो । त्यसमा मलाई मुछ्नुपर्ने कारण केही छैन ।’

पूर्वमन्त्री भट्टराईले संग्रहालयभित्र क्यान्टिन चाहिने कुरामा आफू अहिले पनि अडिग भएको बताए । उनले भने, ‘के सिंहदरबारभित्र क्यान्टिन छैन ? राष्ट्रपति भवनभित्र क्यान्टिन छैन ? क्याफ्टेरिया भनेको नाइट क्लब हो र ? बेलायतको बकिंघम प्यालेस, जापानको इम्पेरियल प्यालेस, अमेरिकाको ह्वाइट हाउस, रुसको सेन्ट पिटर्सबर्गमा पनि त्यस्ता चमेनागृह छन् । नारायणहिटीमा क्याफ्टेरिया चाहिँदैन भने त्यहाँ बनेको भवन किन नभत्काएको ?’

उनले आनन्दराज बतासलाई आफूले चिन्ने र पोखरामा रहेको उनको होटलमा बसेको पनि बताए । उनले थपे, ‘म आनन्दराज बतासलाई चिन्छु, उनले पनि मलाई चिन्छन् । पोखरामा रहेको उनको होटल आनन्दमा म बसेको पनि छु । तर बतास समूहलाई मैले क्याफ्टेरिया चलाउने जिम्मा दिएको होइन । मपछि पनि चार जना मन्त्री आए । उनीहरुका बारेमा किन प्रश्न उठेन ?’