कविता: जीवन सपना - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कविता: जीवन सपना



-वासुदेव पाण्डेय

आफ्नै पौरखले धनार्जन गरोस् चाहे कमाओस् लुटी
चाहे होस् दरबार वा महल नै झुप्रो, कटेरो, कुटी।
जस्तो वास बसी बिहान बटुवा जान्छन् सबेरै उठी
त्यस्तै मानिस जानु पर्दछ मरे खोलेर आफ्ना मुठी ।।
•१•
चाहे भौतिक वस्तुबाट जति नै आफ्नो सजाओस् घर
राखोस् ऊ उपचार निम्ति जगका नामी ठुला डाक्टर।
जस्तै सुन्दर होस् शरीर, पद वा सम्मान पाओस् जति
ढल्दा भौतिक देह छुट्छ उसको सम्पत्ति वा सन्तति।।
•२•
चाहे लाख सशस्त्र व्यक्ति उसको रक्षा गरून् दैनिक
घेराभित्र हुँदा सुरक्षित भएँ ठानोस् हुँदा सैनिक।
काँडेतार लगाउँदै जति ठुला पर्खाल लाओस् तर
चोला फेर्छ अवश्य देह विधिको लेखान्त फेरिन्छ र?
•३•
नातेदार, महाबली जतिसुकै सन्तानले घेरियोस्
मोती स्वर्ण हिरालगायत सबै रत्नादिले बेरियोस्।
राम्रो कर्म गरोस् सदैव जनको प्यारो बनोस् ऊ तर
जन्मी मर्नु अवश्य पर्छ उसले मृत्युञ्जयी को छ र?
•४•
चाहे उच्च पदस्थ होस् जति ठुलो नेता तथा शासक
पारोस कायल युद्धबाट उसले कब्जा गरोस् यो जग ।
रित्तो हात गए मरेपछि यतै छाडेर खाता, बही
जन्मी मर्दछ जीव आयु सकिए खै को छ मृत्युञ्जयी।।