अल्फाबिटामा डोजर लगाउँदा महेश बस्नेतलाई किन भयो पिडा ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अल्फाबिटामा डोजर लगाउँदा महेश बस्नेतलाई किन भयो पिडा ?



काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेत र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।

बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामाथि डोजर चलाइएपछि बस्नेतले बालेनको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका थिए।

अल्फाबिटाका सञ्चालक आफूहरुसँग नजिक भएको वा सँगै फोटो खिचेको भएर डोजर चलाएको हो भने आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका थिए।

त्यही फेसबुक पोष्टमा कमेन्ट गर्दै मेयर साहले अल्फाबिटाका सञ्चालकले आफूसँग पनि फोटो खिचाएको भन्दै नक्सा पासअनुसार घर निर्माण नगरेकै कारण डोजर चलाउनुपरेको प्रष्टीकरण दिएका छन्। ‘नियम कानुनको पालना सबैले गर्नुपर्छ कमरेड’, मेयर बालेनले बस्नेतको पोष्टमा कमेन्ट गर्दै सोधेका छन्, ‘बरु हजुरको घरको नक्सा पास छ कि छैन ?’

त्यसपछि मध्यरातमा अर्को स्टाटस लेख्दै नेता बस्नेतले आफ्नो घरको नक्सा हेर्ने मन भए मेयर साहलाई सूर्यविनायक नगरपालिकामा काजमा आउन भन्दै चुनौती दिएका छन्। ‘तपाईँलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला। हाम्रोतिर ध्वंस होइन, निर्माणको लहर चलेको छ’, बस्नेतले लेखेका छन्,‘यताका डोजरमा मेयर चढ्दैनन्। ड्राइभर चढ्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला।’

नेता बस्नेतले २\४ सय फेसबुक फ्यान भएको भरमा नमात्तिन साहलाई सुझाव दिएका छन्।