बास्कोटा काण्डमा मुछिए प्रचण्ड: अब के होला ? - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बास्कोटा काण्डमा मुछिए प्रचण्ड: अब के होला ?



काठमाडौं- ७० करोड घुस प्रकरणमा मुछिएका निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाले न्याय माग्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्विस कम्पनीका एजेन्ट भनिएका विजय मिश्रलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा बास्कोटाले आफु निर्दोष रहेको दावी गरेका छन् ।

त्यतिमात्र होइन उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ समेत यो काण्डमा मुच्चने प्रयास गरेका छन् ।

बास्कोटाले दायर गरेको मुद्दाको सात पृष्ठ लामो फिराद पत्रमा प्रचण्डको नाम दुई ठाँउ उल्लेख छ।

बास्कोटाले गाली–बेइज्जती गरेकाले मुलुकी ऐन अनुसार क्षेतिपूर्ती र कैद सजाय समेत माग गरेका छन्।

‘प्रतिवादीले विद्युतीय तथा अन्य आमसञ्चारका माध्यमहरूबाट झूटा लाञ्छना लगाई गाली–बेइज्जती गरेको र प्रतिवादीबाट भएको कार्य मुलुकी अपराध संहिताको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीत भएको हुँदा सोही ऐनको २९३(२), दफा ३०५(३) तथा ३०७(१) एवं कानूनका मान्य सिद्धान्त बमोजिम हदैसम्म सजाय गरी सोही उपदफा २ बमोजिमको क्षतिपूर्ति रकम फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ४१ को उपदफा (१) र (२) बमोजिम निर्धारण गरी क्षतिपूर्ति भराई प्रस्तुत मुद्दा दायरीदेखि अन्तिम हुँदासम्मको मुद्दा गर्दा लागेको खर्च समेत विपक्षीबाट दिलाई भराई पाउँ,’ भन्दै बास्कोटाका प्रतिनिधी राजेन्द्र बोगटीले दायर गरिएको मुद्दामा भनिएको छ।

फिराद पत्रको बुँदा नम्बर ३ मा तत्कालिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सुरक्षण मुद्रण विकास समिति गठन गर्ने निर्णय निर्णय गरेको उल्लेख छ। बुँदा नम्बर तीनमा भनिएको छ, ‘म संलग्न भएको मन्त्रिमण्डल गठन हुनु अगावै वि.सं. २०७३ कार्तिकमा तत्कालिन अवस्थामा मौजुदा रहेको प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले सुरक्षण मुद्रण बिकास समिति गठन गर्ने निर्णय गरेको रहेछ ।

सोही निर्णय वमोजिम २०७३ कार्तिक ८ गते नेपाल राजपत्रमा सुचना प्रकाशित गरी सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश, २०७३ मार्फत सुरक्षण मुद्रण बिकास समिति गठन भएको रहेछ । उक्त सुरक्षण मुद्रण बिकास समिति (गठन) आदेश २०७३ को दफा ५ बमोजिम सुरक्षण मुद्रण सम्बन्धि सम्पुर्ण कामहरु सुरक्षण मुद्रण केन्द्रबाट सम्पादन गर्ने गरी उल्लेख गरिएको रहेछ।’

यस्तै फिरात पत्रको बुँदा नम्बर सातमा समेत प्रचण्डको नाम उल्लेख गरिएको छ। उक्त बुँदामा विजय मिश्रले प्रचण्ड प्रधानमन्त्री हुँदा ०७३ पुस २४ मा बसेको लगानी बोर्डको पच्चिसौं बैठकको निर्णय अनुसार ०७३ माघ २ मा लगानी बोर्डबाट सुरक्षण मुद्रणको सम्भाव्यता अध्ययन गर्न प्राप्त भएको व्यक्ति भएको जानकारी गराएको उल्लेख छ।

‘यसै क्रममा सुरक्षण मुद्रण सम्वन्धि जानकारी दिने भन्दै प्रतिवादी बिजय प्रकाश मिश्रले मलाई भेट गरेका हनु। उनले मसंग भेट गर्न आउँदा आफु स्विस कम्पनीको नेपाल प्रतिनिधि हुँ भनी परिचय दिएका थिए ।

तत्कालिन सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल नेपाल सरकार लगानी वोर्डको अध्यक्ष हुनु भएको समयमा मिति २०७३/०९/२४मा वसेको लगानी वोर्डको पच्चिसौ वैठकवाट निर्णय भई मिति २०७३÷१०÷०२ मा लगानी बोर्डबाट सुरक्षण मुद्रणको सम्भाव्यता अध्ययन गर्न पत्र प्राप्त भएको व्यक्ति हुं भनी उनले जानकारी गराएका थिए ।

उनले भेट गर्ने क्रममा नाजायज प्रस्ताव राखे पछि नेपाल राज्य विरुद्धमा कुनै कार्य गर्नु मेरो ईमान, राजनैतिक नैतिकता तथा मन्त्री हुँदा लिएको शपथ विरुद्धमा हुने भएकोले प्रतिवादी तथा निजले प्रतिनिधित्व गरेको कम्पनीको हितमा कुनै कार्य मन्त्रालयवाट गरिएन र गर्न दिईएन ।

यसरी नाजायज प्रस्ताव गर्ने व्यक्तिहरुप्रति संकेत गर्दै मैले मिति २०७५ वैशाख २३ गतेका दैनिक समाचारपत्रमा दिएको अन्तरवार्तामा “हो, मान्छे आउँछन् यति करोड कमिशन आउँछ सही गर्दिनु पर्याे भनेर” भन्ने उल्लेख गरेको थिएँ ।

यसरी नै मैले मिती २०७६ पौष २३ गते वुधवारका दिन नेपाल पत्रकार महासंघ भक्तपुरको स्थापना दिवसका दिन “..म मन्त्री भए देखि कसले कमिशन दिन आए भन्ने कुराको डायरि लेख्दैछु..” भनी सार्वजनिक रुपमा नैव्यक्त गरेवाट समेत स्पष्ट हुन्छ । सोको भिडियो क्लिप तथा अन्तरवार्ताको प्रतिलिपी साथै संलग्न छ।’