बास्कोटाले गरे गुरु घिमिरेको प्रसंशा, गगनको आलोचना - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

बास्कोटाले गरे गुरु घिमिरेको प्रसंशा, गगनको आलोचना



काठमाडौं- नेकपा एमालेका नेता गोकुल बास्कोटाले कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र आफ्नो रक्षाको राजनीति गरेको टिप्पणी गरेका छन्।

समानुपातिकतर्फ उम्मेदवार चयनको क्रममा सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा उत्रिएपछि महामन्त्री थापाभन्दा नेता गुरुराज घिमिरेले कडा छाप छाडेको बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तविक मर्म रक्षाको राजनीति गरेको देखियो।’

चुपचाप र शान्त देखिने नेता घिमिरेले दलीय राजनीतिको वास्तविक मर्म रक्षाको राजनीति गरेको उनको बुझाइ छ। ‘गुमाउन त गुरुले नै गुमाउँछन् तर गगनसामु गुरुले स्पष्टरुपमा कडा छाप छोड्ने भए’ उनले भने।

समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा पूर्ण न्यायोचित रुपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूह आन्दोलित छ।​

समानुपातिकको बन्द सूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ। यो समूहले सिट बाँडफाँटमा ४० प्रतिशत भाग नपाए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएको छ।

शेखर र गगनसहित शीर्ष नेताहरु मौन रहेको बेलामा दोस्रो तहका नेता घिमिरे आक्रमक रुपमा नेतृत्वसामु प्रस्तुत भएको छ।