वर्तमान सरकारले देशमा समृद्धि दिन सक्दैन : कांग्रेस यूवा नेता गगन थापा - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

वर्तमान सरकारले देशमा समृद्धि दिन सक्दैन : कांग्रेस यूवा नेता गगन थापा



गोविन्द बीसी / कैैैलाली । 
नेपाली कांग्रेसका यूवा नेता तथा केन्द्रीय सदस्य गगन कुमार थापाले वर्तमान सरकारले देशमा सम्वृद्ध दिन नसक्ने दाबी गरेका छन् ।

बिहीबार कैलालीको लम्कीमा आयोजित नेपाली कांग्रेसको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले जनताको दुई तिहाई बहुमत प्राप्त सरकारबाट जनअपेक्षाकृत काम हुन नसकेको भन्दै सरकार असफल भएको बताए ।

‘बलियो सरकार र सहयोगी प्रतिपक्ष पाएको बेलामा पनि यो सरकारले काम गर्न सकेन,’ नेता थापाले भने, वर्तमान सरकारको नियत र क्षमतामाथि नै प्रश्न उब्जिएको छ ।कानून भन्दा माथि गएर शासन गर्ने सोचले कहिँ न कहिँ देशलाई दुर्घटना लिएर जान्छ । समस्या सोच र नियतमा छ ।’

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली बरालिएको र त्यही कारण परिणाम नआएको दाबी गरे । उनले प्रधानमन्त्री ओली ज्यूको यही सोच र क्षमताले देशलाई समृद्धि दिन नसक्ने बताए । संघीयता सिस्टममा जादा राम्रो भएपनि वर्तमान सरकारकै कारण संघीयता धरापमा पर्ने नेता थापाको आरोप रहेको छ । म कुनै बेला आशंका व्यक्त गर्थें । उनले भने, ‘बडो दु:खका साथ भन्नुपर्दा अब आशंका होइन दाबी गरेर भन्न सक्छु समस्या सम्माननीय प्रधानमन्त्री ज्यूको क्षमता पनि छ ।’

कार्यक्रममा नेता थापाले नेताकार्यकर्ता भेटघाट क्रममा आफूले निराशा पाएको भन्दै देशमा आएको परिवर्तन कांग्रेसकै कारण भएकाले नआत्तिन आग्रह गरे ।
उनले नेपाली कांग्रेस संविधान सभामा संविधान बनाउछु भनेर नै गएको र जनताको हातमा शान्ति र संविधान दिएको बताए । संविधान निर्माण र सफल कार्यान्वयमा नेपाली कांग्रेसले जिम्मेवार ढंगले भूमिका निर्वाह गरेको बताए ।

यस्तै, कार्यक्रममा पूर्वमन्त्री तथा कांग्रेस नेता रामजनम चौधरीले नेपाली कांग्रेसको पालामा कर कम भएपनि अहिलेको सरकारले जनताको ढाड सेक्ने गरि जनतालाई करको भारी बोकाएको आरोप लगाए । करको भारले जनता दबिसकेको भन्दै नेता चौधरीले करबाट उठेको रकम जनताको बिकासमा खर्च नहुनु दुर्भाग्य भएको समेत बताए ।

नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति राम बहादुर बिष्टको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सांसद मान बहादुर महतो, बुद्धिसागर चौधरी, नेपाली कांग्रेस जिल्ला सभापति नरनारायण शाह, पूर्व जिल्ला सभापति नारायण मिश्र, महासमिति सदस्य कमल बहादुर शाह लगायतको उपस्थिति रहेको थियो ।