वर्षमानको खुलासा- एमालेसँग आकस्मिक एकता, एक्लै लडे कांग्रेस ७, एमाले ९ सिट - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

वर्षमानको खुलासा- एमालेसँग आकस्मिक एकता, एक्लै लडे कांग्रेस ७, एमाले ९ सिट



काठमाडौं- सत्ता गठबन्धनका दलहरू एकै ठाउँमा उभिएर चुनाव लड्ने चर्चाबीच नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले नयाँ खुलासा गरेका छन् ।

स्थायी समिति सदस्य वर्षमान पुनले एमालेसँग आकस्मिक एकता हुनसक्ने बताएका छन् । उनले एमालेका अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि अआकस्मिक पार्टी एकता हुन सक्ने बताए।

नेता पुनले विगतमा एमालेले वामपन्थी रुझान देखाएका कारण एकता भएको र र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको स्वीकार गरेको खण्डमा आकस्मिक रूपमा देशको राजनीतिमा नयाँ घटना देखा पर्ने संकेत गरे ।

ओलीलाई गल्ती महसुस भएको खण्डमा एकताको ढोका खुल्ने उनको दाबी छ। सहकार्यका लागि प्रतिनिधिसभा विघटनका विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त पुनले अघि सारेका छन्।

कार्यक्रम टफटकका लागि पत्रकार दिलभुषण पाठकसँग कुरा गर्दै पुनले भने,‘एमाले अध्यक्ष र मूल नेतृत्वले हिजोका गल्तीहरूको महसुस गर्‍यो भने आकस्मिक मोर्चाबन्दी र गठबन्धन हुन्छ ।’ उनले थपे, ‘गल्तीको महसुस गर्ने बित्तिकै सहकार्यको ढोका खुल्छ ।’

कार्यक्रममा नेता पुनले एमाले नेताहरूसँग आफूहरूको संवाद भइरहेको खुलासा समेत गरे। उनले दिर्घकालीन रूपमै कांग्रेससँग सहकार्यको नीतिमा आफूहरू नरहेको स्पष्ट पारेका छन् ।

उनले वामपन्थी र विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकताको प्रक्रियामा अघि बढ्ने बताए।‘हिजो हामीले एउटै पार्टी बनायौँ। पहिलो अध्यक्ष र प्रधानमन्त्री ओलीजी हुनुहुन्थ्यो। उहाँले पार्टी र सरकारलाई ठीक ढंगले ड्राइभ गर्न सक्नुभएन । न सरकारको पर्फमेन्स राम्रो भयो ।’ उनले भने ।

नेता पुनले भने, ‘६ वटा प्रदेशमा एब्सुलेट बहुमत थियो। संघमा दुई तिहाइको सरकार थियो। विकासको जग, सुशासनको जग बसाल्नुपर्ने थियो, त्यो भएन । पार्टी पनि पारदर्शी ढंगले सामूहिकताका आधारमा चलाउनुपर्नेमा त्यो भएन’, उनले भने, ‘फेरि यी कुराहरू करेक्सन भए भने एकता पनि हुन्छ, तालमेल पनि हुन्छ गठबन्धन पनि हुन्छ। कुनै आश्चर्यको कुरा होइन। म वामपन्थीहरू मिल्नुपर्छ भन्नेमा हो।’

पुनले संविधान र व्यवस्था बचाउन कांग्रेससँग गठबन्धन गरेको दाबी गर्दै तत्काल गठबन्धन टुटाउन नखोजेको बताए। आफू ओली प्रधानमन्त्री हुँदा मन्त्रीका रूपमा रहेको र संविधान विघटन गरेकै दिन राजीनामा दिएको स्मरण गर्दै उनले मन्त्री पद नै छाडेर कांग्रेससँगको गठबन्धन निर्माणमा भूमिका खेलेकाले वर्तमान सत्ता गठबन्धसँग आफ्नो लगाव रहेको उल्लेख बताए।

कार्यक्रममा उनले भने, ‘हाम्रो ३७ सिट थियो। अहिले केही बढ्छ। कांग्रेस २३ सिटमा थियो, अहिले बढ्छ, फेरि वामशक्ति मिल्दा कांग्रेस ५ वा ७ सिटमा जान्छ। कांग्रेस र वाम-लोकतान्त्रिक शक्ति मिल्दा एमाले ९ सिटमा झर्छ, यो सबैले भनिराखेको कुरा हो।’