बर्दगोरियामा तस्करी मौलाउदै, बन कर्मचारीद्बारा तस्करलाई नै सहयोग - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

बर्दगोरियामा तस्करी मौलाउदै, बन कर्मचारीद्बारा तस्करलाई नै सहयोग



बौनिया,कैलाली । पछिल्लो समय कैलालीका बिभिन्न सामुदायिक बनबाट काठ तस्करी बढ्दै गइरहेको छ । एकपछि अर्को गर्दै सामुदायिक तथा राष्ट्रिय बन क्षेत्रबाट तस्करी मौलाउदै जान थालेको हो ।

सामुदायिक बन उपभोक्ता समूहको नेतृत्व गरिरहेका समूहका पदाधिकारी, बन संरक्षणको अधिकार र जिम्मेवारी पाएका बन कर्मचारी र तस्करहरुको मिलेमतोमा पछिल्लो समयमा काठ तस्करी बढदै गएको जनगुनासो छ ।

महिनौंपिच्छे तस्करीका घटना सार्वजनिक रूपमा मिडियामा आइरहँदा समेत बन कर्मचारीको मौनता बढ्न थालेको छ ।

तस्करको पहिचान खुलाएर काठ तस्करीमा संलग्नलाई बन कर्मचारीले संरक्षण गरि घटना सामसुम पार्ने चेष्टा गर्दै आएको स्थानीयको आरोप छ । कतिपय ठुलो परिणाम र प्रकृतिका घटनालाई सामान्य र बेवारिसे बनाउदै तस्कर उम्काउने जुक्तिमा कर्मचारी लाग्न थालेको जनगुनासो छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ खैरेनीमा आइतबार चिरान हुँदै गरेको काठ ईलाका बन कार्यालय रामपुर बौनियाले बरामद गर्यो । उक्त घटनामा संलग्न सोही ठाउँका अन्दाजी २७ वर्षीय मोहन भट्टराई रहेको र नीज फरार रहेको मुचुल्का स्थलगत रूपमा बन कर्मचारीले उठाए । तर, सोही साँझ फरार भनिएका ब्यक्ति र बन कर्मचारी बौनिया स्थित एक होटेलमा भेटिएको स्रोतले बतायो ।

यस्तै, गएको माघ ११ गते राती सोही वडामा २ ट्राली सालको गोलिया सहित से २ त ११८५ र से १ त ७२८७ नम्बरको ट्याक्टरमा अबैध सालका काँचो गोलिया लुकाइछिपाई ल्याउदै गरेको थाहा पाएपछि साइनिङ्ग स्टार युवा क्लबले बन कर्मचारीलाई खबर गरे । तर, तस्करीमा संलग्नलाई कार्बाहीको दायरा ल्याउनुको साटो बनले घटना सामान्य पारेर उन्मुक्ति स्रोतको भनाइ छ ।

गएको बैशाख ११ गते सोही वडाको रानीकुण्डा क्षेत्रबाट ढुङ्गामुनी लुकाएर ल्याउदै गरेको अवस्थामा स्वराज कम्पनीको निलो रंगको ट्याक्टरमा ४ गोलिया सालको काठ प्रहरी र बन कर्मचारीको गस्ती टोलीले फेला पार्यो तरपनि, ट्याक्टरको च्यासिस नम्बर यातायात कार्यालयमा पठाइएको र नम्बर खुलेपछि तस्करीमा संलग्नलाई सार्वजनिक गरिने भन्दै ईलाका बन कार्यालय रामपुरका प्रमुख दिलिप यादवले मिडियालाई झुठो कुरा बताए ।
यस्तै,आधा दर्जन बढी घटना मिडियामा आएपनि बन कर्मचारीको मिलेमतोमा सामसुम पारेर दोषीलाई उन्मुक्ति दिदै आएको स्थानीय बताउँछन् ।

बन संरक्षण कार्यमा जनप्रतिनिधिहरुको समेत खासै चासो र चिन्ता देखिदैन भने कतिपय ठाउँमा काठ तस्करीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न दोषीलाई कारबाहीको साटो उन्मुक्ति दिन बढी सक्रिय रहेको जनगुनासो बढदै गएको छ ।

स्थानीय स्तरमा केही समय देखि क्लबले सक्रियता बढाउन थालेपछि तस्करीका घटना बाहिर आउन थालेका छन् । क्लबमा आवद्ध यूवाले बन तस्करी नियन्त्रणका लागि प्रयास गर्दा आफूमाथि दबाब समेत आउन थालेको गुनासो गर्न थालेका छन् । उनीहरूले स्थानीय सामाजिक कार्यमा सामुदायिक बन र जनप्रतिनिधिको साथ आवश्यक रहेको बताएका छन् ।