बर्दगोरियाको सार्वजनिक सुनुवाइ सम्पन्न - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

बर्दगोरियाको सार्वजनिक सुनुवाइ सम्पन्न



हिमाल पोस्ट / कैैैलाली । 

कैलालीको बर्दगोरिया गाउँपालिकाले वार्षिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ भएको सेवा प्रवाह तथा विकास निर्माण योजनाका बारेमा जानकारी गरिएको थियो ।
बर्दगोरिया गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण कोसेली मिडिया प्रालिद्वारा संचालित कोसेली एफएम ९७ मेगाहर्ज बौनियाले गरेको हो ।

कार्यक्रममा गाउँपालिका अन्तर्गत ६ वटै वडामा भएको बजेट योजना र कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय जनता र सेवाग्राहीले जिज्ञासा राखेका थिए ।

कार्यक्रमका अवसरमा बर्दगोरिया गाउँपालिकामा आर्थिक बर्ष २०७५/०७६ को वार्षिक अवधिमा भएका कामकार्वाहीको प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले वडामा सञ्चालित योजनाको कार्यान्वयनको अवस्था र सेवा प्रवाहबारे आम नागरिकहरुलाई जानकारी गराउनुभएको थियो ।

गाउँपालिकाको वडा नम्बर-१ मा आयोजित कार्यक्रममा सहभागीहरुले सडक तथा विभिन्न पूर्वाधार निर्माण बजेट योजना समयमै सम्पन्न नहुने र आर्थिक वर्षको असार मसान्तसम्म छिटोछरितो काम गर्दा प्रभावकारी हुन नसक्नेमा ध्यानाकर्षण गराएका थिए । यसका साथै स्थानीय नागरिकले खानेपानी समस्या, बजारमा ढल निकास ब्यवस्थापन लगायतका विषयमा गाउँपालिकाले ध्यान दिन नसकेको गुनासो गरे । यस्तै, सार्वजनिक सूचना प्रवाहको माध्यम नागरिक वडापत्र तथा सूचना पार्टी प्रवन्ध गरिनुपर्ने, सेवाग्राहीका लागि सहयोग कक्ष (हेल्पडेस्क) राखिनुपर्ने योजना अनुगमन, राजस्व संकलन ब्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा गाउँपालिकाको सेवाप्रति आम नागरिकको सन्तुष्टि, नियमितता, जनबिश्वास, गुणस्तर, सूचनाको अभिमत सर्वेक्षण अनुसार गाउँपालिकाले राम्रो काम सम्पादन गरेको भन्दै सहभागीले प्रसंशा समेत व्यक्त गरे । कार्यक्रममा ४० जना स्थानीय सेवाग्राही नागरिकको सर्वेक्षण अभिमत प्रस्तुत गरिएको थियो ।
स्थानीय स्तरमा गौरवका योजना छनोट र प्राथमिकता राखेर काम गरिनुपर्ने समेत उनीहरूले सुझाव दिए ।
गाउँपालिकामा सामाजिक मेलमिलाप केन्द्र स्थापना भएपनि न्याय सम्पादन तथा निरुपणको कार्य नभएको बताए । यस्तै, योजना छनौट र उपभोक्ता समिति गठन प्रक्रियामा जनसहभागितामा जोड नदिएको, २/३ वटा योजना एकैजना ब्यक्ति अध्यक्ष हुने गरेको, कृषि उत्पादनको बजार व्यवस्थापन नभएको लगायतका विषयमा धारणा राखेका थिए ।

सो क्रममा सहभागीका जिज्ञासा, सल्लाह सुझावलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका सभापति बलिराम डंगौरा, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की, योजना शाखाका अर्जुन मल्ल, शिक्षा शाखा प्रमुख निरिखनन्दन लालकर्ण, कृषिका दुर्गाराज ओझा लगायतले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यस्तै, स्वास्थ्य शाखाका कैलाश कुमार रावत, पशुशाखाका जय प्रसाद कोइराला लगायतले बजेट तथा योजना कार्यान्वयनको अवस्थाको बारेमा जानकारी दिनुभयोे ।

गाउँपालिकाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले सबै वडामा विभिन्न योजनाहरु सञ्चालनका लागि उपभोक्ता समिति गठन गरी योजना सम्झौता तथा कतिपय योजना सम्पन्न भई प्राविधिकको मुल्याकंन पश्चात भुक्तानी समेत भएको र कतिपय सञ्चालनमा रहेको बताउनुभयो ।

गाउँपालिकाका तर्फबाट भौतिक पूर्वाधार तर्फ सडक, खानेपानी, वडाका भवन लगायतका विभिन्न संरचना निर्माण सम्बन्धि, कृषि, पर्यटन लगायतका क्षेत्रमा संचालित कार्यक्रम, गाउँपालिकाको गुरुयोजना निर्माणको काम, सेवाग्राही नागरिकलाई गरिएको सहयोग, विभिन्न तालिम अनुशिक्षण कार्यक्रम, गाउँपालिकाका तर्फबाट भएका अध्ययन अवलोकन भ्रमण लगायतका विषयमा प्रतिवेदनमा समावेश गरी प्रस्तुत गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत कार्कीका अनुसार केही ठूला पूवार्धार बिकास योजना बाहेक ९० प्रतिशत कार्यप्रगति भइ आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्थामा रहेको जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष भगवतीदेवी डंगौराले स्वागत गर्नुभएको कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष भेखु चौधरी, नेकपाकी पदमा साउद, नेपाली कांग्रेस बर्दगोरिया सभापति गणेश शाही, राष्ट्रिय जनमोर्चाकी रुपा आलेमगर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन कोसेली एफएमका स्टेशन म्यानेजर लिलाजंग शाही र पत्रकार नेत्र न्यौपानेले गर्नुभएको थियो ।