बर्दगोरिया स्रोतकेन्द्र स्तरीय खेलकुदको ट्रफी बसन्त मुरारीलाई  - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

बर्दगोरिया स्रोतकेन्द्र स्तरीय खेलकुदको ट्रफी बसन्त मुरारीलाई 



गोविन्द बीसी / बौनिया,कैैैलाली । 
कैलालीको बौनियामा जारी बर्दगोरिया स्रोतकेन्द्र स्तरीय खेलकुद प्रतियोगिताको ट्रफी बसन्त मुरारी माविले उचालेको छ । प्रावि, निमावि र मावि तीनवटै तहमा सर्वाधिक जित हासिल गरि उपाधी चुमेको हो ।

दोस्रो संस्करण अन्तर्गतको खेलकुद प्रतियोगितामा बसन्त मुरारी मावि बौनिया सबैभन्दा बढी अंक ल्याउन सफल भएको छ । प्रावितर्फ ६ बिद्याका खेलकुद प्रतियोगितामा बसन्त मुरारी मावि बौनियाले ३१, मोहन्याल प्रावि जोकाहीले १७ र जगदम्बिके मावि रानीकुण्डाले १६ अंक ल्याएको छ ।

निमावितर्फ संचालित ५ बिद्याका खेलकुदमा बसन्त मुरारी मावि बौनियाले ३१, कालिका मावि नौनियाले २० र बालकन्या आधारभूत बिद्यालय कट्टीपुरले १८ अंक प्राप्त गरेको छ । यस्तै, मावितर्फ ९ बिद्याका खेलकुदमा बसन्त मुरारी मावि बौनियाले १६३, कालिका मावि नौनियाले ७० र महुन्याल मावि बास्कोटीले ६७ अंक प्राप्त गरेको आयोजकले जनाएको छ ।

सहीद दिवसका अवसरमा गत माघ १६ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

प्रतियोगितामा गाउँपालिका अन्तर्गत रहेका प्राथमिक, आधारभूत र माध्यमिक गरि १७ वटा सामुदायिक विद्यालयको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

खेलकुद प्रतियोगितामा हिसाब दौड, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, १ हजार मिटर दुरीका दौड भएका थिए । यस्तै, म्युजिकल चेयर, हाइजम्प, लङ्गजम्प, सटपुट, कपर्दी र भलिबल खेल भएको स्रोतकेन्द्र स्तरीय खेलकुद समिति संयोजक भूमिप्रकाश बमले जानकारी दिए ।

यस्तै, प्रतियोगितामा कालिका माविकी राधा बोहरा, बसन्त मुरारी माविका प्रेम बुढा, दशरथ बुढा र दुर्गा कुंवर उत्कृष्ट खेलाडी छनोट भएका छन् । बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोगमा संचालन भएको खेलकुद कार्यक्रमको मुख्य प्रबर्द्धक गाउँपालिका नै रहेको थियो ।

प्रतियोगितामा छात्रछात्रा दुबैतर्फ फरकफरक विद्यामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने बिद्यार्थीलाई मेडल तथा कदर प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । यस्तै, सहभागी बिद्यालय र अतिथिलाई मायाको चिनो प्रदान गरिएको छ । स्रोतकेन्द्र विद्यालय बसन्त मुरारी माविमा सबै खेलकुद सम्पन्न भएका हुन् ।

सोही विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर कुँवरको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बलिराम डंगौरा रहेका थिए भने, बिशिस्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष भगवती डंगौरा रहेकी थिइन् ।

कार्यक्रममा शिक्षक शिवराज गौतम, जगदम्बिके माविका प्रअ नेत्र बहादुर खड्का, बालकन्या आधारभूत बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष मिथुन गौतम, नेकपा बर्दगोरिया संयोजक डिल बहादुर बिक, कार्यपालिका सदस्य टेक बहादुर बिक, वडा नम्बर-३ कर्ण सुनार लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन खेलकुद समिति सदस्य सुरेन्द्र प्रकाश जैसीले गरेका थिए ।