बर्दगोरिया गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

बर्दगोरिया गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न



मासीक सुबिधा कायम गरिनुपर्ने वडा सदस्यहरुको माग

गोविन्द बीसी
बौनिया ,कैलाली । बर्दगोरिया गाउँपालिकाको दोस्रो गाउँसभा मंगलबार सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर-१ स्थित कार्यालयको सभाहलमा भएको गाउँ सभामा वडा सदस्यहरुले आफुलाई उचित सेवा सुबिधाको माग गरेका छन् ।

गाउँपालिका अध्यक्ष बलिराम डंगौरालाई ज्ञापन पत्र बुझाउदै वडा सदस्यहरुले यस्तो माग गरेका हुन् । उनीहरूले अन्य जनप्रतिनिधि सरह आफुहरुले पनि काममा गर्नुपरेको बताए ।

गाउँ सभा सदस्यहरुको विभिन्न विषयगत उपसमिति र कार्यसमिति पदाधिकारीको सेवा सुविधा तत्काल कायम गर्न गाउँसभामा वडा सदस्यहरुले माग गरे । अन्य निर्वाचित जनप्रतिनिधि सरह कामकाज गर्नुपर्ने भएकोले सोही अनुसार सेवासुविधा उपलब्ध गराउन वडा सदस्यहरुले माग गरेका हुन् ।

उनिहरुले बैठक भत्ता १ हजार ५ सय ब्यवस्था गरिनुपर्ने, कामकाजको सिलसिलामा अन्यत्र जानुपर्ने भए दैनिक भ्रमण भत्ता १ हजार ६ सय ब्यवस्था गरिनुपर्ने, सञ्चार र इन्धन खर्च मासिक २ हजार ४ सय ब्यवस्था गरिनुपर्ने, स्वास्थ्य र सुरक्षा खर्च अन्य पदाधिकारी सरह पदीय आधारमा कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको पनि मासिक सेवा सुविधा तोकिनुपर्ने माग गरेका छन् ।
सम्पुर्ण गाउँसभाका सदस्यहरुको लागि पोसाकको व्यवस्था गर्नुपर्ने माग गरेका छन ।

गाउँसभामा ६ वटै वडाका वडा अध्यक्षहरुले जनतालाई कुनैपनि कसर बाकी नराखी छिटोछरितो रूपमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । अधिकांश वडाका जनप्रतिनिधिले हाल आफु सिकाईको क्रममा रहेकाले धेरै कामहरु आवश्यकता अनुसार नभएको बताए । उनीहरूले आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने धारणा समेत राखेका छन् ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष बलिराम डंगौराले कार्यपालिका सदस्यहरुको सेवा सुबिधा सम्बन्धि माग जायज भएको र छिट्टै सम्बन्धित निकायमा पहल गर्ने बताए । गाउँपालिका अध्यक्ष बलिराम डंगौराको सभा अध्यक्षतामा भएको गाउँसभा बैठकमा सह-अध्यक्षमा उपाध्यक्ष भगवती देवी डंगौरा थारु रहेकी थिईन ।

गाउँसभा बैठकमा गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले जनशक्ति तथा कर्मचारी संख्या कम भएकाले छिटोछरितो कार्य सम्पादन गर्न नसकिएको बताए । कर्मचारीको अभावमा सेवाग्राहीलाई छिटोछरितो सेवा सुबिधा दिन समस्या हुने गरेको अधिकृत कार्कीले गुनासो गरेका छन् । गाउँ सभामा ६ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो ।