बार्सिलोनाले जित्यो ला लिगाको उपाधि, मेसीको अर्को ह्याट्रिक - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

बार्सिलोनाले जित्यो ला लिगाको उपाधि, मेसीको अर्को ह्याट्रिक



काठमाडौँः यो सिजन घरेलु लिगमा अपराजित रहेको बार्सिलोनाले लियोनेल मेसीको ह्याट्रिकसँगै ला लिगाको उपाधि उचाल्न सफल भएको छ ।

बार्सिलोनाले २५ औँ ला लिगा उपाधि जित्ने क्रममा डेपोर्टिभो लाकुरानालाई उसैको घरेलु मैदानमा ४–२ गोलले पराजित गर्न सफल भएको हो ।

बार्सिलोनाले उपाधि जितेको दिने मेसीले पनि आफ्ना लागि विशेष बनाए । बार्सिलोनाका लागि पहिलो गोल फिलिपे काउटिन्होले गरे । उनले डेम्बेलेको पासमा सातौँ मिनेटमा यो गोल गरेका थिए ।

अर्कातिर मेसीले पहिलो व्यक्तिगत पहिलो गोल ३८ औँ मिनेटमा गरे । मेसीको ह्याट्रिकका लागि लुइस स्वारेजको योगदान रह्यो । तीनै गोलका लागि मेसीलाई उनैले अवसर दिलाए ।

पहिलो गोल ३८ औँ मिनेटमा गरेका मेसीले दोस्रो गोल ८२ औँ मिनेटमा गरे । त्यसपछि खेलको ८५ औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पुरा गरेका हुन् ।

पराजित डेपोर्टिभोका लागि लुकासले ४० औँ मिनेटमा र कोलाकले ६४ औँ मिनेटमा गोल गरे पनि मेसीलाई रोक्न नसक्दा पराजय भोग्न बाध्य भयो ।

बार्सिलोनाले चार खेल अगावै उपाधि जित्ने क्रममा ३४ खेलबाट ८६ अंक जोडेको छ । उसलाई पछ्याइरहेको एथ्लेटिको मड्रिडले ३५ खेलबाट ७५ अंक जोडेको छ । रियल मड्रिड भने ३४ खेलबाट ७१ अंकमा सीमित भएको छ । अबका बाँकी ३ खेल एथ्लेटिकोले जित्दा पनि बार्सिलोनासँग रहेको ११ अंकको दुरी भेट्न असम्भव भएसँगै बार्सिलोनाले चार खेल अगावै उपाधि उचालेको हो ।