बार्सिलोनालाई रेड कार्ड, रोकियो बराबरीमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बार्सिलोनालाई रेड कार्ड, रोकियो बराबरीमा



स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ ।

आउँदो शनिबार हुने कोपा डे रे फुटबलको फाइनलका लागि प्रमुख खेलाडीलाई आराम दिइएको खेलमा बार्सिलोना सेल्टा डी भिगोसँग २–२ को बराबरीमा रोकिएको हो ।

अवे मैदानमा भएको खेलमा ३६ औँ मिनेटमा उसमा डेम्बेलेको गोलबाट बार्सिलोनाले सुरुवाति अग्रता लियो । तर ४५ औँ मिनेटमा क्यास्ट्रो ओट्टोले सेल्टाका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ को बारबरी भएको खेलमा दोस्रो हाफमा पनि दुवै तर्फबाट एक एक गोल भयो । ६४ औँ मिनेटमा पाको अलकेसरले गोल गर्दै फेरि बार्सिलोनालाई अग्रता दिलाए । २–१ को अग्रता लिएको बार्सिलोनालाई ७१ औँ मिनेटमा रातो कार्डको झड्का लाग्यो ।

सेल्टाका लागो एस्पासलाई तानेका कारण सेर्गी रोबर्टोले रातो कार्ड पाएर मैदान छोड्न बाध्य भए । बार्सिलोना १० खेलाडीमा सीमित भयो । ८२ औँ मिनेटमा लागो एस्पासले सेल्टाका लागि बराबरी गोल फर्काए ।

यो खेलमा बार्सिलोनाले जेरार्ड पिके र आन्द्रेस इनिएस्टालाई आराम दिएको थियो । यस्तै स्टार स्ट्राइकर लियोनल मेस्सी र लुइस स्वारेज खेलको सुरुमा बेन्चमा थिए । उनीहरु थप खेलाडीको रुपमा मैदान छिरेका थिए ।

बराबरीपछि अपराजित यात्रा ४० पुगेको शीर्ष स्थानको बार्सिलोनाको लिगका पाँच खेल बाँकी हुँदा ८३ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३२ खेलबाट ७१ त्था तेस्रो स्थानको रियल मड्रिडको ६७ अंक रहेको छ । ३३ खेलबाट ४४ अंकसहित सेल्टा नवौँ स्थानमा छ ।

मंगलबार राति नै भएका अरु खेलमा भिल्लारियलले लेगानेसलाई २–१ ले हरायो भने डिप्रोटिभो डी ला कोरुना र सेभिल्लाले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।