बारामा झडप: प्रहरीले गोली चलायो, बालक घाइते
बारा- बारामा स्थानीय र प्रहरीबीच झडप भएको छ । जिल्लाको सीमावर्ती सुवर्ण गाउँपालिका-२ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडि बुधबार प्रहरी र स्थानीयबीच झडप भएको हो ।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालक गम्भीर घाइते भएका छन् । राति साढे ८ बजेतिर भारतबाट ल्याइँदै गरिएको आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोज्दा भएको झडपमा गोली लागेर सुवर्ण गाउँपालिका -२ कै १४ वर्षीय रन्जनकुमार यादव घाइते भएका हुन् ।
बालकको टाउकोमा गोली लागेको छ । बालकको स्थानीय एसआर अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि वीरगन्जको बयोधा अस्पताल रिफर गरिएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेको थियो ।