बैंकहरुले ब्याजदर कहिले घटाउलान ? यस्तो छ अवस्था - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बैंकहरुले ब्याजदर कहिले घटाउलान ? यस्तो छ अवस्था



सरकारले मौद्रिक नीतिमा परिवर्तन गर्दै कम ब्याजदरमा ऋण लिन पाउने वातावरण बनाएको भनिए पनि ब्याङ्क तथा वित्तीय संस्थाले यो वर्ष ब्याजदर घट्न सक्ने निश्चित नभएको बताएका छन्।

कम्तीमा चार महिनापछि ब्याजदर घट्न सक्ने देखिए पनि त्यतिबेला कर्जा दिन मिल्ने रकम अर्थात् लोनेबल फण्ड पर्याप्त उपलब्ध हुनुपर्ने एक ब्याङ्कका अधिकारीले बताइन्।

सरकारले गत असारमा मौद्रिक नीतिमा परिवर्तन गर्दै स्प्रेड दर अर्थात् निक्षेप र कर्जामा दिइने ब्याजदरको अन्तर पाँच प्रतिशतबाट घटाएर साढे ४ प्रतिशतमा झारेपछि कर्जामा ब्याजदर घट्ने बताइएको थियो।

तर ब्याङ्क तथा वित्तीय संस्थाका अधिकारीहरूले भने त्यसको कुनै सुनिश्चितता नभएको बताएका छन्।

पर्याप्त

मेगा ब्याङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीका अनुसार ब्याजदर घट्न कम्तीमा चार महिना कुर्नैपर्छ।

त्यो बेलामा पनि कर्जा दिन लायकको रकम अर्थात् लोनेबल फण्ड ब्याङ्कहरूसँग पर्याप्त हुनुपर्ने बताइन्।

उनले भनिन्, “राष्ट्र ब्याङ्कका अनुसार ब्याजदर घट्नुपर्ने कुरा एकातिर हो। तर कहिलेदेखि घट्छ भन्ने कुरामा भने समय लाग्नसक्छ। अर्को चौमासिकमा ब्याङ्कको ब्याजदर घटबढ हुनेछ। तर त्यो बेलामा यदि ब्याङ्कसँग लोनेबल फण्ड पर्याप्त छैन भने ब्याज नघट्न पनि सक्छ।”

तर राष्ट्र ब्याङ्कले भने सरकारले ब्याजदर घटाउने उद्देश्यले कदम चालिसकेको अवस्थामा अन्यथा गर्न नहुने बताएको छ।

परिवर्तन

राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार राष्ट्र ब्याङ्कले अनिवार्य नगद अनुपातका साथै वैधानिक तरलता अनुपात घटाएको छ र ४८ अर्ब बजारमा जाने व्यवस्था गरेको छ।

राष्ट्र ब्याङ्कले ब्याजदर घटाउने वातावरण बनाएको बताउँदै उनले भने, “हामीले वातावरण बनाइदिएका छौँ। अब ब्याङ्क तथा वित्तीय संस्थाले कर्जादर वा दीर्घकालीन प्रकृतिका कर्जाको ब्याजदर घटाउनैपर्छ।”

त्यसो नगरे राष्ट्र ब्याङ्कले नीति परिवर्तन गर्न सक्ने पनि बताइएको छ।

सरकारले गत असार २७ गते मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर लगायत विभिन्न नयाँ व्यवस्थाबारे सबै ब्याङ्क तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको थियो।बिबिसी

यो पनि :

लोनको ब्याज नघटाए बैंकहरुलाई कारबाही