बंगलादेशमा जहाजबाट मगाइयो प्याज, बजारमा हाहाकार - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

बंगलादेशमा जहाजबाट मगाइयो प्याज, बजारमा हाहाकार



एजेन्सी- बंगलादेशमा प्याजको हाहाकार भएको छ। प्याजको मूल्य आकासिएपछि प्रदर्शन समेत सुरु भएको छ। केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर आज २ सय ६० टका पुगेको छ। बंगलादेश सरकारले खपत धान्‍नका लागि हवाईजहाजमा राखेर प्याज आयात गरिरहेको छ।

महंगीका कारण मानिसहरुले प्याजको उपभोग नै गर्न सकिरहेका छैनन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदका डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदले हवाईजहाजबाट प्याजको आयात गरिरहेको बताएका छन्। प्रधानमन्त्री हसिनाले आफ्नो खानामा प्याजको प्रयोग नै बन्द गरेको जाहिदलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

बंगलादेशका रेस्टुरेन्टहरुमा पनि प्याजको प्रयोग घटेको समाचारमा जनाईएको छ। प्याजको मूल्यलाई लिएर राजधानी ढाकामा उपभोक्ताहरुले विरोध प्रदर्शन सुरु गरेका छन्। बंगलादेशको प्रमुख विपक्षी पार्टीले पनि प्याजको मूल्यविरुद्ध आज देशव्यापी प्रदर्शनको घोषणा गरेको छ।

सरकारलको गलत नितीका कारण देशमा तरकारीको भाउ आकासिएको विपक्षी पार्टीको आरोप छ। बंगलादेशले अहिले म्यानमार, टर्की र इजिप्टबाट प्याजको आयात गरिरहेको छ। उपभोक्तालाई राहत दिनका लागि सरकारी संस्थान ट्रेडिङ्ग कर्पोरेशन अफ बंगलादेश टीसिबीले ढाकामा ४५ टका प्रतिकिलो प्याज विक्री गर्न थालेको छ।

भारतले मूल्य बढेपछि गत सेप्टेम्बरदेखि निर्यात नै रोकिदिँदा पनि बंगलादेशमा असर परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। भारतमा मनसुनी बर्षापछि ठूलो परिमाणमा प्याजको उत्पादन घटेको थियो।