बनारसमा देउवालाई रेड कार्पेट, आरजुले टाउको ढाकिन
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार उत्तर प्रदेसको बनारस पुगे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्रसमेत रहेको बनारसस्थित काशी विश्वनाथको दर्शन गर्न देउवा त्यहाँ पुगेका हुन्।
नयाँ दिल्लीबाट एयर इन्डियाको जहाजले बनारस पुगेका देउवालाई स्वागत गर्न उत्तर प्रदेसका मुख्यमन्त्री योगी आदित्यनाथ आफैं विमानस्थल पुगेका थिए।
देउवा बनारस आउने भएपछि उनको स्वागतका लागि योगी लखनऊबाट त्यहाँ आएका थिए। विमानस्थलमा फूलको गुच्छा दिएर योगीले प्रधानमन्त्री देउवालाई विमानस्थलमा स्वागत गरे।
विश्वनाथको मन्दिरमा देउवाका लागि ‘रेड कार्पेट’ ओछ्याइएको थियो भने सडकका दुवै छेउमा बालबालिकाहरू नेपाल–भारतको झन्डा हातमा लिएर स्वागत गरे।
देउवासँग थिए उनकी पत्नी आरजु देउवा राणा र भ्रमण टोलीका अन्य सदस्यहरू।
‘सारीको घुँघटो’ निधारमा राखेर देउवासँग मन्दिरभित्र प्रवेश गरेका आरजु तथा भ्रमण टोलीका सदस्यहरूलाई उत्तर प्रदेसका मुख्यमन्त्रीले काशी विश्वनाथ मन्दिरबारे जानकारी गराइरहेका थिए।
मन्दिरभित्र देउवा–आरजुले पूजा गरिरहँदा योगी त्यहीँ छेउमै उभिइरहे। योगीकै छेउमा उभिएकी थिइन् ऊर्जामन्त्री पम्फा भुसाल, परराष्ट्रमन्त्री नारायण खड्का, कृषि विकास तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादव र भ्रमण टोलीका अन्य सदस्यहरू।
देउवा र आरजुले एकसाथ काशी विश्वनाथ मन्दिरमा दूध र जल अर्पण गरेका थिए।
मन्दिरका पूजारीले आरतीको थाल र घण्टी आरजुको हातमा थमाइदिए। आरजुले केहीबेरपछि आरतीको थाल देउवालाई दिए।
आफू आरती गरिसकेपछि देउवाले आरतीको थाल सँगै उभिएकी ऊर्जामन्त्री भुसाललाई दिए। क्रमसँगै मन्त्रीका साथै भ्रमण टोलीका सदस्यहरूले आरती गरे।
ऊर्जामन्त्री भुसालले कोटको खल्तीबाट पैसा निकालेर मन्दिरमा चढाइन्।
तीन दिने भ्रमण सकेर प्रधानमन्त्री देउवासहितको टोली बनारसबाट आइतबार स्वदेश फर्किँदैछ।
पाँचौंपटक प्रधामन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो।
तीन दिने भारत भ्रमणमा शुक्रबार नयाँ दिल्ली पुगेका देउवाले भारतका उपराष्ट्रपति बेन्क्या नायडु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस.जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए।
भाजपा मुख्यालय पुगेर भ्रमणको पहिलो दिननै उनले भाजपा अध्यक्ष नड्डासँग भेटवार्ता गरेका थिए।
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो।
भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नक्सा अद्यावधिक गरेपछि नेपालले कूटनीतिक नोट पठाउँदा दिल्लीले कुनै जवाफ दिएको थिए।
त्यसपछि नेपालले आफ्नो नक्सामा गरेको परिवर्तनलाई भारतले अस्वीकार गर्दै आएको छ।
देउवाको भारत भ्रमणपछि सडक र रेलजस्ता सम्पर्क सञ्जालसम्बन्धी परियोजनामा थप प्रगति हनेका दुवै पक्ष सकारात्मक देखिएका छन्। त्यसैगरी दुवै पक्षबीच अन्तर्देशीय ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमति भएको छ।