तस्करलाई उन्मुक्ति, पैसाको बार्गेनिङ गर्दै वन कर्मचारी - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

तस्करलाई उन्मुक्ति, पैसाको बार्गेनिङ गर्दै वन कर्मचारी



कैलाली

गत आइतबार कैलालीको बर्दगोरिया गाउँपालिका ३ खैरेनीमा तस्करीको अवैध काठ चिरान भइरहेको सूचना स्थानीय साइनिङ स्टार क्लबले पायो । खबर पाए लगत्तै क्लबका एक प्रतिनिधिले इलाका वन कार्यालय रामपुरलाई जानकारी दिए । बिहान ८ बजे सूचना पाएका वन कार्यालयका कर्मचारी ११ बजे स्थलमा पुगे ।

घटना स्थलमा ४ थान काचो सालको गोलिया बरामद गरे । वनले नियन्त्रणमा लिएको उक्त गोलिया २५.०९ क्युफिट रहेको जनाएको छ । वन कर्मचारी स्थलमा पुग्नेबेलासम्म चिरानमा संलग्न व्यक्ति फरार भइसकेका थिए ।
तस्करीको काठ चिरानमा संलग्नको पहिचान पनि उनीहरूले नै गरे । उक्त घटनामा संलग्न सोही ठाउँका अन्दाजी २७ वर्षीय मोहन भट्टराई रहेको र निज फरार रहेको मुचुल्का स्थलगत रूपमा वन कर्मचारीले उठाए । एक स्थानीयका अनुसार काठ चिरानमा संलग्नलाई वन कर्मचारीले नै भगाए ।

उनीहरू तस्करलाई पूर्व सूचना दिएर स्थलमा पुगेको स्थानीयको दाबी छ । सोही साँझ इलाका वन कार्यालयका कर्मचारी र काठ चिरानमा संलग्न व्यक्ति बौनिया स्थित एक होटेलमा भेटे । स्रोतका अनुसार उक्त भेटमा वन कर्मचारीले तस्करीको काठ चिरानमा संलग्नसँग पैसाको बार्गेनिङ गरे ।
पैसा दिन तस्करीमा संलग्न पनि तयार भए । तर कति पैसा भन्नेमा कुरा मिल्न नसकेको स्रोतको दाबी छ ।

वन कर्मचारीले एक लाख बढी रकम माग गरेको तर तस्करीमा संलग्नले बार्गेनिङ गरिरहेको स्रोतको दाबी छ । इलाका वन कार्यालय रामपुरका जमदार प्रकाश जोशीले तस्करसँग पैसाको बार्गेनिङ गरिरहेको स्रोतले बतायो ।
उनलाई इलाका वनका प्रमुख दिलीप यादवको समेत साथ रहेको स्रोतको दाबी छ । जमदार जोशी र प्रमुख यादवले यस अघि पनि काठ तस्करीमा पक्राउ परेकालाई पैसाको बोर्गेनिङ गरेर छोडेको आरोप स्थानीयको छ ।
वन कर्मचारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, “उनीहरूले एक लाख बढी माग गरिरहेका छन् । इलाका मात्रै होइन, हाकिम र माथिल्लो कार्यालयमा समेत कमिसन जाने भएकोले ठुलो रकम माग गरिएको हुनसक्ने उनीहरूको दाबी छ । उनीहरूले दैनिक टेलिफोन र साँझ भेटेर बार्गेनिङ गर्ने गरेका छन्।

कम पैसामा वन कर्मचारीलाई मनाउन स्थानीय जनप्रतिनिधिले समेत वन कार्यालय धाउन थालेका छन् ।”
तस्करीको घटना भएको ५ दिनबितिसक्दा समेत संलग्नलाई कार्वाहीको दायरामा नल्याएर पैसाको चलखेलमा घटना सामसुम पार्न वन कार्यालयका कर्मचारी उद्धत रहेको स्रोतको भनाई छ ।
वन तस्करीमा संलग्नलाई वन कार्यालयका कर्मचारीबाट नै संरक्षणको प्रयास हुँदै गएपछि कर्मचारीप्रति जनविश्वास घट्दै गएको छ ।

जिल्लाको बर्दगोरिया गाउँपालिकामा गएको बैशाखयता सार्वजनिक भएका कैयौंपटकका घटनामा तस्करलाई उम्काउने प्रयास हुन थालेको भन्दै स्थानीय स्तरमा आलोचना बढ्दै गएको छ ।
वन कर्मचारी सँगसँगै सामुदायिक वन संरक्षणको अधिकार र जिम्मेवारी पाएका वन उपभोक्ता समूहका पदाधिकारी र जनप्रतिनिधिको आडमा तस्करी मौलाउँदै गएको आरोप छ ।

वन कर्मचारी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीबाट नै “सानालाई ऐन र ठुलालाई चैन“ को व्यवहार र प्रवृत्ति हुँदै आएको स्थानीयको आरोप छ । साँझबिहानको छाक टार्न पिठ्युँ र टाउकोमा दाउराको भारी बोक्ने मानिसको दाउरा वन समितिले झार्ने गरेको तर, तस्करीमा संलग्नलाई कार्यवाहक नगरी पक्षपोषण गर्दै आएको स्थानीय बन उपभोक्ता बताउँछन् ।
इलाका वन कार्यालयका जमदार प्रकाश जोशीले भने बार्गेनिङ गरिरहेको भन्ने आरोप निराधार भएको दाबी गरे ।

इलाका प्रमुख दिलीप यादव १९ गते देखि बिदामा रहेकोले ढिलाइ भएको जोशीले जिकिर गरे । उनले भने, “पक्राउ नगर्ने भन्ने कुरै हुँदैन । हाकिम बिदामा हुनुहुन्छ । पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी गर्नुपर्छ हाकिम साहब आएपछि त्यो प्रक्रिया सुरु हुन्छ । दोषी उम्किन पाउँदैन । पहिचान भइसकेको छ । हामी पक्राउ गर्छौ ।”

तर जमदार प्रकाश जोशीको भनाइसँग बाझिने गरी डिभिजन वन कार्यालय पहलवारपुरका प्रमुख दीपक ज्ञवालीले पक्राउ पुर्जी जारी भइसकेको बताए ।

उनले भने, “उक्त प्रकरणको अनुसन्धान गर्न निर्देशन दिइसकिएको छ । पक्राउ पुर्जी जारी भइसकेको छ । त्यहाँको इलाका प्रमुख दिलीप यादव बिदामा हुनुहुन्छ । हाजिरी हुने बित्तिकै अनुसन्धान र तस्करीको काठ चिरानमा संलग्नलाई पक्राउ नगरे हामी एक्सन लिन्छौँ । दोषी उम्कने कुरै हुँदैन ।”
इलाकाले नगरे आफूले नै उक्त केश हेर्ने ज्ञवालीले बताए ।