“वामदेवलाई उपाध्यक्ष बनाउन सकिन्न”

काठमाडौं- करिब दुई वर्षपछि बसेको सत्तारुढ नेकपाको केन्द्रीय समिति बैठकमा नेताहरुले पार्टी र सरकारबारे जमेर छलफल गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरुले नेता र जनप्रतिनिधिको सम्पत्ति छानबिनदेखि वामदेव गौतमलाई उपाध्यक्ष बनाउन नहुने मत समेत राखेका छन् ।
बिहीबार सामूहिक छलफल गरेपछि बैठकको तेस्रो दिन नेतृत्वलाई समूह नेतामार्फत रिपोर्टिङ गरिरहेका छन् । केन्द्रीय सदस्यहरुले आयोग बनाएर नेता र तीनै तहका सरकारमा रहेका जनप्रतिनिधिको आयोग गठन बनाएर सम्पत्ति छानबिनको माग गरेका हुन् । उनीहरुले पार्टी विधानलाई नेतृत्वले गुटगत रुपमा प्रयोग गरेको भन्दै चर्को आलोचना समेत गरेका छन् ।
१५ नम्बर टोलीका टोली नेता समेत रहेका लेखनाथ न्यौपानेले समूहगत छलफलको निष्कर्ष सुनाउँदै पार्टी गैरकम्युनिष्ट चरित्रको भएको र गलत तत्वसँग साँठगाँठ बढेकोले सम्पत्ति छानबिन गर्नुपर्ने माग राखेका थिए ।
न्यौपाने समूहले पार्टीमा नवधनाढ्य वर्गको उदय भएकाले सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउन माग समेत गरेको छ । तीन तहका सरकारका कामको मुल्यांकन गर्न पनि न्यौपाने समूहले माग गरेको छ ।
गुटबन्दी नेतृत्वबाटै
बैठकमा केन्द्रीय सदस्यहरुले नेकपामा गुटबन्दीमा फसेको भन्दै नेतृत्वप्रति आक्रोश पोखेका थिए । दिवंगत नेताहरुका नाममा गठन गरिएका प्रतिष्ठानले गुटबन्दीको काम गरेको भन्दै विघटनको माग उनीहरुले गरेका थिए । समूह नं. ६ का नेता दीनानाथ शर्माले गुटबन्दी माथिबाटै भइरहेको भन्दै आपत्ति जनाएको थियो ।
ओलीलाई केन्द्रीय सदस्यको कटाक्ष : जनताले पत्याए पो सरकारको बचाउ गर्ने !
केन्द्रीय सदस्यहरुले बैठकमा दुई तिहाईंको जनमत पाएको सरकारले जनताको मन जित्न नसकेको भन्दै गुनासो गरेका थिए । टोली नेतामार्फत आफ्नो कुरा नेतृत्वलाई पुर्याएका केन्द्रीय सदस्यहरुले जनताले पत्याउनेसम्म सरकारको बचाउ गर्न सकिने भन्दै नेतृत्वको कटाक्ष गरेका थिए ।
बैठक उद्घाटन शत्रमा प्रधानमन्त्री ओलीले नेपाल विकासको बाटोमा रहेको भन्दै सबै सूचकहरुमा प्रगति भइरहेको तथ्यांक पेश गरेका थिए । उनले केन्द्रीय सदस्यहरुलाई सरकारको विरोध गर्नबाट रोक्न २ घण्टाभन्दा बढी समय बिताएका थिए ।
त्यसो त, प्रधानमन्त्री बोलिरहँदा मञ्चदेखि कार्यकर्ता तहसम्म निदाइरहेका तस्बिरहरु सार्वजनिक भएका थिए । उनीहरूले प्रधानमन्त्रीको कुरामाथि विश्वास नगरी यस्तो जवाफ दिएका हुन् । प्रदेश अध्यक्षहरुले सरकारको कामबारे असन्तुष्टि प्रकट गरेका थिए । तीन तहका सरकारबीच समन्वय नहुँदा जनताको अपेक्षा पूरा गर्न नसकिएको उनीहरुको नेतृत्वलाई रिपोर्टिङ थियो ।
वामदेवलाई उपाध्यक्ष बनाउन सकिन्न
केन्द्रीय सदस्यहरुले नेतृत्वले आफ्नो गुट बलियो बनाउन वामदेव गौतमलाई उपाध्यक्ष बनाउन लागेको भन्दै विरोध गरेका थिए । ‘यदि उपाध्यक्ष पद सिर्जना खडा गर्ने हो भने माथिदेखि तलसम्म बनाउनुपर्छ, नेताहरुले आफ्नो गुटलाई बलियो बनाउन उपाध्यक्षको खेलमा लाग्नुहुँदैन भन्ने कुरा हाम्रो समुहबाट नेतृत्वलाई रिपोर्टिङ भएको छ,’ एक टोली नेताले भने ।
उनीहरुले सबै ठाउँमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने माग समेत राखेका थिए ।
१५ वटा समूहमध्ये बाँकी समूहले निष्कर्ष पेश कार्यसूची छ। त्यसपछि अध्यक्षद्वय ओली र प्रचण्डले जवाफ दिनेछन् । तर, बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको अध्यक्षतासहित सुझाव सुनेका थिए ।

