वामदेवसँग पनि ओलीको कित्ताकाट - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

वामदेवसँग पनि ओलीको कित्ताकाट



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिबेला निकै ठुला समस्या देखिन थालेका छन् । शक्ति सन्तुलनकै बिषयमा देखिएका नयाँ विवादहरूले गम्भीर मोड लिनसक्ने देखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अधिकारविहीन बनाएको, एकलौटी रुपमा अगाडी बढ्न खोजेको र गम्भीर घेराबन्दी गरेको अड्कल गर्दै प्रचण्ड नयाँ ओलीसँग निकै रुष्ट देखिएका छन् ।

यस्तैमा पार्टीका अर्का प्रभावशाली नेता वामदेव गौतम पनि प्रधानमन्त्री ओलीसंग कित्ताकाटको अवस्थामा पुगेको स्रोतले बताएको छ । लामो समयदेखि प्रचण्ड निकट देखिने गौतमलाई आफ्नो कित्तामा पार्न विभिन्न प्रलोभन तेर्स्याएका ओलीले बाचा पुरा नगरेपछि पछिल्लो समय निकै रुष्ट बनेका छन् ।

ओलीले गौतमलाई पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारीमात्रै दिएका छैनन् उपाध्यक्षमा पनि नाम सिफारिश गरेका छन् । उपाध्यक्ष बनाउने नेकपाको विधानबिपरित गरिएको निर्णय थियो । प्रचण्ड खेमाबाट आफुतर्फ ल्याउन विधान मिचेर भएपनि ओलीले यस्तो निर्णय गरेका थिए ।

ओलीले आफूलाई अलमल्याउन खोजेको वामदेवले निष्कर्ष निकाल्दै माधव नेपालसँग नजिकिएका छन् । माधव नेपाल भने प्रचण्डलाई सघाउने पक्षमा छन् । ओली गुटबाट सधै पेलिने नेता नेपाल एउटा निर्णायक शक्तिका रुपमा चिनिन्छन ।

गौतमलाई उपाध्यक्षमा नाम अनुमोदन गर्नको लागि पहिले पार्टीको स्थायी समितिको बैठक बस्नुपर्छ ।पार्टीकै बिधान परिमार्जन गर्नुपर्ने हुन्छ । स्थायी समितिले नाम अनुमोदन गरेरमात्रै हुँदैन, त्यसपछि केन्द्रिय कार्यसमितिबाट प्रस्तावित नाम अनुमोदन गर्नुपर्नेहुन्छ । तर, ओलीले पार्टीका महत्वपूर्ण बैठकहरु बोलाउनको लागि आनाकानी गरिरहेका छन् । यही विचमा नेता गौतमले पनि प्रधानमन्त्री ओलीलाईभन्दा पनि अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्तालाई बढावा दिएका छन् ।

पार्टी एकता गर्दा ताका नै अध्यक्षद्धय ओली र दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्नेबारे भद्र सहमति भएको थियो । तर, उक्त सहमतिलाई गोप्य राखिएको थियो । उक्त सहमतिअनुसार ओलीले अढाई वर्ष र प्रचण्डले अर्को अढाई वर्ष सरकारको नेतृत्व गर्ने भनिएको छ । ओलीले सरकारको नेतृत्व गरेको करिब २२ महिना भैसकेको छ । तर, ओलीले सजिलै सरकारको नेतृत्व प्रचण्डलाई सुम्पिने छाँटकाँट देखाएका छैनन् । त्यही भएर प्रचण्डलाई छट्पटी भैरहेको छ । सार्वजनिक कार्यक्रममै प्रचण्डले बेला बेलामा ओलीलाई घुर्काउने गरेका छन् ।

पछिल्लो समय ओलीले प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले आफूले त्यति सजिलै सरकारको नेतृत्व प्रचण्डलाई नसुम्पिने आशयको अभिव्यक्ति दिएका छन् । यो सँगै प्रचण्ड झनै ओलीसँग रुष्ट बनेका छन् । हिजोमात्रै पनि ओलीलाई बालुवाटारमै पुगेर प्रचण्डले आफ्नो असन्तुष्टि पोखे । उनीहरुबीच करिब तीन घण्टा छलफल भएको थियो ।