वाम एकता मन नपराउनेले जुनसुकै षडयन्त्र गर्न सक्छन् :प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकता मन नपराउने पक्षले जुनसुकै सीमासम्मको षडयन्त्र गर्न सक्ने बताउनुभएको छ ।
राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकतालाई ‘अनिष्ट भयो’ भनेर तर्सेका दक्षिणपन्थी शक्तिले वामपन्थी भित्रकै समूहलाई उपयोग गरेर एकतालाई भत्काउन जुनसुकै सीमासम्म जान सक्ने सम्भावना औंल्याएका हुन् ।
लेखक रामराजा रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास, एक माक्र्सवादी दृष्टिकोण’ पुस्तकको विमोचन गर्नुहुँदै अध्यक्ष प्रचण्डले वाम एकताले नेपाली समाजको समृद्धि, स्थायित्व, विकास र सुशासनको जनताको चाहनालाई पूरा गर्ने भन्दै जनताले अनुमोदन गरेपनि यसलाई अनिष्टको संज्ञा दिनेहरूले षड्यन्त्र गर्न सक्ने बताउनुभएको हो ।
‘वाम एकताको घोषणाले पैदा गरेको तरङ्ग सबैभन्दा ठूलो छ । यो आम जनताका लागि सकारात्मक र अर्को पक्षका लागि नकारात्मक पनि गुणात्मक रुपले ठूलो छ । त्यसैले यी दुई कित्ताका बीचमा निकै तीब्र हुनेवाला छ । अर्कोतर्फ माक्र्सवादी भित्रका दक्षिण, मध्य र उग्र प्रवृत्तिका बीचमा पनि पेचिलो बहस हुनेवाला छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो बहस बढ्दै जानेवाला छ । मलाई के लाग्छ भने परस्पर विरोधी कित्ता र आन्दोलन भित्रकै गलत चिन्तन र प्रवृत्तिसँग सम्बन्धितको कुरा गर्दा कहीँ न कतै त्यहाँ अनौठा अनौठा समीकरण देखिन सक्छन् ।’
नेपाली इतिहासमा वैचारिक, राजनीतिक र जनताको तागतको हिसाबले पराजित हुँदा अर्को कित्ताले अन्तिम लडाइँ लड्न चाहने र त्यो क्रममा माक्र्सवादी आन्दोलनका विचलनकारी शक्तिलाई नै उपयोग गर्ने अध्यक्षले बताउनुभयो । ‘यो संघर्षमा जनताको श्रमजीविको जीत हुनेतर्फ अगाडि बढ्यो ।
स्थायित्व, विकास र समृद्धितिर देश अगाडि बढ्दै गयो भने अर्को कित्तालाई सहने स्थिति नरहन पनि सक्छ,’ उहाँले भन्नुभयो, ‘नेपालको इतिहासमा यस्ता बिन्दु आउने गरेका छन् । चाहे राणाकालको उदयको कुरा गरौं या पछिल्ला परिघटनाको कुरा गरौं, दरबार हत्याकाण्ड या मदन भण्डारीको हत्यासम्म हेर्दा असह्य भएपछि यस्तो षड्यन्त्रमा उत्रिने देखिएको छ ।’
उहाँले अगाडि भन्नुभयो, ‘परिवर्तन विरोधी अर्को वर्ग र पक्षधरले माक्र्सवादी आन्दोलनका विचलनलाई प्रोत्साहित गर्ने, मलजल गर्ने र त्यही भित्रबाटै लडाइँ लड्ने गर्छ । म उपस्थित विद्वान साथीहरूलाई निकै गम्भीर, सकारात्मक र रचनात्मकरुपले विचार गर्न अनुरोध गर्दछु ।’
अध्यक्ष प्रचण्डले नेपालको इतिहासलाई नयाँ ढंगले अघि बढाउन खोजिएको भन्दै इतिहासको निर्माता जनता भएको बताउनुभयो । अहिले निर्वाचनमार्फत् जनताले स्थायित्व, समृद्धि र सुशासनका लागि वाम एकतालाई अनुमोदन गरेको हुँदा त्यसबाट पछाडि हट्नै नसकिने जिकिर गर्नुभयो । अध्यक्षले भन्नुभयो, ‘पपुलर भोटको कुरा गर्दा ५१ प्रतिशत र प्रतिनिधिमूलक भोट ६७ प्रतिशत छ । त्यसैले यसलाई भत्काउन खोज्नेहरू जुनसुकै सीमामा जान सक्छन् । यसलाई भत्काउन ठूलाठूला षडयन्त्र हुने छन् । यसलाई भत्काउन या सुदृढ गर्ने दुई वटा विकल्प हाम्रा अगाडि छन् ।’
अध्यक्ष प्रचण्डले जनताले निर्वाचनमार्फत् एकताको पक्षमा आदेश दिएको दोहो¥याउनुभयो, ‘त्यही आदेश पालना गर्ने क्रममा बीचमा केही आग्रह, पूर्वाग्रह, संकीर्णता र अराजकताले केही उतारचढाव भयो ।’ प्रचण्डले भन्नुभयो, ‘अन्ततः जनादेशलाई स्वीकार गर्नैपर्छ र बाहिर जान खोज्यो भने सह्य र क्षम्य हुँदैन, माक्र्सवादी, जनवादी हुन सक्दैन भनेर पार्टी एकता गर्ने आधारमा हस्ताक्षर गरेका छौं । हामी पार्टी एकतातिर अघि गई नै सक्यौं । पछाडि फर्के खाल्डोमा फस्नुबाहेक विकल्प छैन ।’
नेपाली जनताले नेपालको तीब्र विकास भएको हेर्न चाहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । एकतापछि नेपालको इतिहासमा नै सबैभन्दा ठूलो सदस्य भएको पार्टी हुने बताउँदै उहाँले जनताले यो एकीकृत पार्टीबाट ठूलो अपेक्षा राखेको बताउनुभयो । ‘यसप्रति जनताको आशा निकै बढी छ,’ अध्यक्षले भन्नुभयो, ‘जनताले सुशासन, विकास, समृद्धि गरोस् भन्ने अपेक्षा छ । द्रुतगतिमा विकास होस्, सबैखाले बेथितिको अन्त्य होस् र समृद्ध नेपाल छिटो स्थापना होस् भन्ने जनताको अपेक्षाको दबाब नेतृत्वमाथि धेरै ठूलो परेको छ ।’
पुस्तकमाथि परिचर्चा गर्नुहुँदै अध्यक्ष प्रचण्डले विश्वमा इतिहास २ किसिमले लेखिने गरेको बताउनुभयो । ‘एउटा राजा महाराजाले गरेका भनिएका चमत्कारका विषयमा इतिहास लेखिन्छ भने अर्को मजदुर जनताका श्रम र उत्पादन विकासका इतिहास लेखिन्छन्,’ प्रचण्डले भन्नुभयो, “राजा महाराजाको इतिहास लेखिनु पुजीवादी दृष्टिकोण हो भने जनताको इतिहास लेखिनु माक्र्सवादी दृष्टिकोण हो ।’