बालुवाटार जग्गा काण्ड: गच्छदार भागे, माधव नेपालसँग बयानको तयारी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बालुवाटार जग्गा काण्ड: गच्छदार भागे, माधव नेपालसँग बयानको तयारी



काठमाडौं – प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले सबै जिम्मेबारसँग बयान लिइरहेको छ।

तर, दुबै निकायले खोजिरहेका तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदार सम्पर्कविहिन छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्ट र रमेश सापकोटाले लेखेका छन्।

दुबै निकायले बयानमा बोलाएपछि १५ असारमा भारत गएका उनी उतैबाट अमेरिका गए।

भारत फर्किएपछि पनि नेपाल आउनुको सट्टा उनी चेन्नईतिर लागेका छन्।

यस्ता बयानमा अख्तियारले फोनबाटै बोलाउने, फोनबाटै पछ्याउने र नआएमा पत्र काट्ने र पत्रिकाबाट सार्वजनिक सूचनासमेत प्रकाशित गर्ने गरेको छ।

गच्छदारले जानीजानी बयान टार्न खोजेको भन्दै सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी गरेको छ।

अख्तियारले बालुवाटारको जग्गासँग सम्बन्धित अनुसन्धानमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसँग समेत बयान लिने तयारी गरेको छ।

नेकपाका वरिष्ठ नेता नेपाललाई भने गोप्य रुपमा बयान लिने तयारी गरेको श्रोतले दाबी गरेको छ।

‘उहाँसँग पनि सोधिन्छ, तर बयान नभनी गोप्य रुपमा सोध्न सकिन्छ,’ अख्तियारश्रोतले भन्यो।