बालकृष्ण ढुंगेललाई नेकपा ओखलढुंगाद्वारा सम्मान - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बालकृष्ण ढुंगेललाई नेकपा ओखलढुंगाद्वारा सम्मान



ओखलढुंगा । ओखलढुंगाको पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा कैद मिनाहा गरिएका पूर्व सांसद बालकृष्ण ढुंगेललाई नेकपा ओखलढुंगाले सम्मान गरेको छ । सरकारले गत जेठ १५ गते कैद मिनाहा गरेका ढुंगेललाइ नेकपाका जिल्लास्थित नेता कार्याकर्ताहरुले ओखलढुंगा बजारमा बिहिवार सम्मान गरेका हुन् ।

व्यक्ति हत्याको मुद्दामा जेल सजाय भोगेर गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते छुटेका ढुंगेललाई उनका समर्थक लगायत तत्कालिन नेकपा एमालेका नेता कार्यकर्ताले समेत स्वागत तथा सम्मान गरेका हुन् । नेकपा एमाले आफ्ना कार्याकर्ताको हत्यागरिएको भन्दै उज्जनका परिवारलाइ किटानी जाहेरी दिन लगायपछि ०५५ सालमा उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जिल्ला अदालत ओखलढुंगाले कैद सजाय तोकेको थियो । उनि आठ महिना जेल सजाय भोगेर छुटेका हुन् ।

नेकपाको सम्मान थाप्न बुधबार ओखलढुंगा आएका उनलाई वामपन्थी युवा मञ्चले सदरमुकाम ओखलढुंगामा औपचारिक कार्यक्रम गरेर बिहीबार सम्मान गरेको जनाएको छ । मानेभञ्ज्याङको केतुके, सिद्धिचरण नगरपालिकास्थित ओखलढुंगा सदरमुकाम र मोलुङ गाउँपालिकाको रामपुरमा ढुंगेललाई सम्मान गरिएको नेकपाका एक नेता नेत्र भट्टराइले जानकारी दिए । सम्मान कार्यक्रममा ओखलढुंगा आएका ढुंगेलले सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्दोष भएको तर झुटा मुद्दामा फसाइएकाले गम्भीर अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउनु पर्ने बताए ।

ढुंगेलको सम्मानमा नेकपाका जिल्ला नेता तथा कार्यकर्ता र समर्थकहरुको सहभागिता रहेको थियो । उनले आजै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत जिल्लाका सरकारी कार्यालयहरुमा पुगेर भेटघाट गरेका छन् । ०५५ सालमा ओखलढुंगाको पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जिल्ला अदालत ओखलढुंगाले कैद सजाय तोकेका ढुंगेल तत्कालीन पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि ०६४ सालको संविधान सभाको चुनावमा ओखलढुंगाबाट निर्वाचित भएका थिए । उनलाइ पूनः ०६६ मा सर्वोच्चले जिल्ला अदालतको फैसला सदर गरेपछि ०७४ सालमा पक्राउ गरी जेल हालिएको थियो ।