बलीप्रथाको अन्त्यका लागि सामूहिक प्रतिबद्धता - Himal Post Himal Post
  • ५ आश्विन २०८०, शुक्रबार
  •      Fri Sep 22 2023
Logo

बलीप्रथाको अन्त्यका लागि सामूहिक प्रतिबद्धता



पोखरा, असोज १७ गते । विश्व अहिंसा दिवसको अवसरमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले धर्मको नाममा कुनै पनि शक्तिपीठमा पशुबधलाई निरुत्साहित गर्न सामूहिक प्रतिबद्धता जाहेर गर्नुभएको छ । सामाजिक जागरणका लागि नारी अभियानले आयोजना गरेको पशुबलीप्रथा न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताले मठमन्दिरमा पशुबली आफू पनि नदिने र अरुले दिए चुप लागेर नबस्ने बताउनुभयो ।

“कुनै पनि धर्मले भन्दैन पशुबध गरेर धर्म हुन्छ” भन्दै कार्यक्रमका सहभागीले विजयादशीमा पशुबली विरुद्धमा जनचेतना अभिवृद्धि गर्नुका साथै सरसफाइमा जोड दिइने कार्यक्रम रहेको संयोजक सरिता घिमिरेले जानकारी दिनुभयो ।

सहक्षेत्रीय प्रशासक दिवाकर बास्तोलाले मठमन्दिरमा मात्र होइन घरघरमा समेत पशुबध गर्ने संस्कारलाई त्यागी शात्विक जीवनशैली अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।कार्यक्रममा भागवत भाष्कर युवापण्डित कमलनयन गौतमले कुनै पनि धर्म संस्कार र धार्मिक ग्रन्थमा पशुबध गरे पुण्य वा धर्म हुने कुरा नलेखिएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् सामाजिक जागरणका लागि नारी अभियानका तथा पशुबलीप्रथा विरुद्ध अभियानका संयोजक सुष्मा पौडेलले सामाजिक जागरण समाजले कुरीति र कुसंस्कार विरुद्ध अभियान चलाउँदै आएको जानकारी दिनुभयो ।

अधिकारकर्मी माधव पहारीले आफूभित्रका काम, क्रोध, लोभ, मोह र अहंकार जन्य आफूभित्रको पशुलाई बध गर्न छोडेर निर्दोष प्राणीको हत्या गर्नु कुनै पनि आधारमा धर्म र विद्यातन्त्र हुन नसक्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पशुबलीप्रथा विरुद्धको अभियान तथा आध्यात्मिक तथा मानसिक परामर्श विरुद्धको अभियानका सदस्य, विभिन्न आध्यात्मिक तथा धार्मिक संप्रदायका प्रतिनिधि, अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीलगायत आमा समूह टोल विकास संस्थालगायत विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो । रासस